नेपालगन्ज एभियसन म्यूजियममा आकर्षण (फोटो फिचर)

नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सञ्चालनमा ल्याइएको नेपालगन्ज एभियसन म्यूजियम । फोटो : मेरो खुसी

नेपालगन्ज : नेपालगन्जमा अर्को पर्यटकीय गन्तव्य, एभियसन म्यूजियम शनिबारबाट सञ्चालनमा आएको छ ।
नेपालगन्ज उपमहानगरपालिका र वेद उप्रेती ट्रष्टको सहकार्यमा नेपालगन्ज–१२ बेलासपुरमा झन्डै सात कठ्ठा जग्गामा नेपालगन्ज एभियसन म्यूजियम सञ्चालनमा आएको हो । कस्मिक एयरको फोकर–१०० जेट विमानभित्र म्यूजियम छ ।

जहाँ पुग्नेले विमान चढ्ने मात्र होइन, ककपिटमा बसेर विमान चलाइरहेको फोटो खिच्न पाउने व्यवस्था मिलाइएको सञ्चालक क्याप्टेन वेद उप्रेती बताउँछन् । म्यूजियमभित्र प्रवेश गर्ने बित्तिकै बागेश्वरी मन्दिर र खडेश्वर जुँगे महादेवको मन्दिरको फोटो सुरुमै आउँछन् ।

त्यसो त, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र सगरमाथा क्षेत्रका पर्यटकीय गन्तव्य झल्कने आकर्षक तस्बिरहरु छन् । विश्वका २५० भन्दा बढी जहाजबारे जानकारी दिने साना डमी जहाज पनि राखिएको छ । जहाज उडानको अवस्थाबारे पनि विमानको भित्तामा सूचनाहरु लेखिएको छ । म्यूजियमबारे ७ मिनेटको डकुमेन्ट्री पनि हेर्न पाउँछन् ।

सञ्चालक उप्रेती भन्छन्, ‘नेपालगन्जमा अर्को एउटा पर्यटकीय गन्तव्य थपिएको छ, एभियसन म्यूजियम ।’ प्रचारप्रसार नभए पनि पहिलो दिनमा झन्डै २ सय जनाले म्यूजियमको अवलोकन गरेको सञ्चालक उप्रेतीले बताए ।