बाँकेमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु

नेपालगन्ज : बाँकेमा आइतबारदेखि कोरोना भाइरसविरुद्धको खोपको थप मात्रा (बुस्टर डोज) लगाउन थालिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय अनुरुप बाँकेमा पनि यो खोप लगाउन थालिएको हो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार गत वर्ष अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई खोप लगाइए अनुसार अहिले पनि बुस्टर डोजका रुपमा खोप लगाउन सुरु गरिएको हो । आइतबार भेरी अस्पतालबाट सुरु गरिएको खोप सेवा अन्तगर्त सार्वजनिक सेवामा अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई खोप लगाउन थालिएको हो । यस्तै ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका अनुसार बाँकेमा १८ वर्ष भन्दा माथिका ७८ प्रतिशतलाई पहिलो मात्राको खोप र ५३ प्रतिशत लाई पूर्णरुपमा खोप लगाइसकिएको छ । जिल्लाका आठ वटै पालिकामा दैनिक रुपमा नियमित खोप लगाइन थालिएको बताउँदै पहिले छुटेका जुनसुकै खोप पनि लगाउन सकिने प्रमुख शाहले जानकारी दिए ।