नेपालगन्जको नगर सञ्चार नीति-२०७८ पारित

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले २ वर्षपछि बल्ल सञ्चार नीति पारित गरेको छ ।
उपमहानगरपालिकाले २०७६ सालमा सञ्चार नीति निर्माण गर्न विज्ञ समूह बनाएको थियो । विज्ञ समूहबाट सञ्चार नीति कार्यदल गठन गरेर मस्यौदा तयार गरेको थियो । सो मस्यौदामा नेपाल पत्रकार महासंघलगायत मिडिया सम्बद्ध संघ संस्था र जिल्लामा कार्यरत पत्रकारसँग छलफल गरेर सुझाव संकलन गरेको थियो । उपप्रमुख उमा थापा मगरले आइतबार सम्पन्न १०औं नगरसभाले संशोधनसहित नगर सञ्चार नीति २०७८ पारित गरेको बताइन् । सञ्चार नीतिले नगरबाट प्रकाशित, प्रसारित मिडियालाई लोककल्याणकारी विज्ञापन र उपमहानगरले उलपब्ध गराउने विज्ञापनको समानुपातिक वितरण र सञ्चारकर्मीको क्षमता विकास लगायतका आवश्यक कार्य गर्नेलगायतका व्यवस्था गरेको छ ।
नगरसभाले भू–उपयोग र जग्गा ब्यवस्थापनलाई ब्यवस्थित,, वैज्ञानिक र पारदर्शी बनाउने उद्देश्यका साथ भू–उपयोग ऐन संशोधनसहित पारित गरेको उपप्रमुख थापा मगरले जानकारी दिइन् । नगरसभाले नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको आर्थिक विवरण र रकमान्तरण गर्ने निर्णय गरेको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले आफुहरुको कार्यकाल सफल भएको दाबी गरे ।