४१ लाखको कम्दीको गौशाला प्रयोग नहुँदै जीर्ण

रमेशकुमार यादव । कम्दी
बाँकेको डुडुवा गाउँपालिका-५ कम्दीमा गौशाला निर्माण सम्पन्न भए पनि प्रयोगविहीन अवस्थामा जिर्ण बन्दैछ ।
१५ जेठ ०७६ मा डुडुवा गाउँपालिकाको ३९ लाख ७८ हजार ४९ रुपैयाँ र १ लाख ९८ हजार ९०२ रुपैयाँ गरी ४१ लाख ७६ हजार ९५२ रुपैयाँमा गौशाला निर्माण गरिएको हो । १०० वटा गाई राख्ने क्षमता रहेको गौशाला उद्घाटन नै नहुँदै जिर्ण भइरहेको छ । गौशालाको गेट प्रयोग बिना नै टुटिसकेको छ । भवनको छानाको टिन पनि जिर्ण हुँदै गएको छ ।

गौशालाको छेवैमा गायत्री मन्दिरमा ४० गाई छन् । मन्दिरको गोठ क्षमता मात्र २० गाईको छ । बाँकी २० गाईलाई खुला आकासमा रुख मुनी बाँध्ने गरिएको छ । गौशाला ब्यवस्थापन समिति र मन्दिर ब्यवस्थापन समिति अध्यक्ष बेलबहादुर बोहराले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका गाई व्यवस्थापन गर्ने लक्ष्यसाथ सुरु भए पनि उद्घाटन हुन नसकेमा दुःख व्यक्त गरे । गाईको संरक्षण उद्देश्यका लागि निर्माण त भयो तर गाईका लागि दाना, पराल, भुस जस्ता खाना ब्यवस्थापन गर्न गाउँपालिकाले सघाएन ।

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले नेपालगन्जका मेयरले गाई ब्यवस्थापन गर्नुस् सहयोग गर्छु भनेकाले गौशाला निर्माण गरेको गौशाला व्यवस्थापन समितिका अध्यक्ष बोहरालाई बताएका थिए । गाउँपालिकाले नियमित रुपमा गौशाला सञ्चालन र ब्यवस्थापन गर्न नसक्ने जनाउ दिएका छन् । उचित व्यवस्थापन नहुँदा गाईले स्थानीयको बाली नोक्सान गरिरहेका छन् ।

गौशाला नजिकका किसान रातभर न सुतेर बाली जोगाउन १२ महिना खेतबारीमै बस्नुपर्ने अवस्था छ । डुडुवा गाउँपालिकाका जनप्रतिनिधि र जिम्मेवार कर्मचारी भने गौशालाबारे बेखबर छन् । वडा सदस्य झुठु थारूले गौशाला कहाँ छ भन्ने आफूलाई थाहा नभएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले पनि आफू गाउँपालिका आउनु अघि निर्माण भएकाले गौशालाबारे कुनै थाहा नभएको बताउँछन् ।