१० वर्षमा बाँकेमा सवा १ लाख जनसंख्या थपियो (८ स्थानीय तहको जनसंख्या सूचीसहित)

नेपालगन्ज : बाँके जिल्लामा १० वर्षको अवधिमा सवा एक लाख जनसंख्या बृद्धि भएको छ ।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक विवरणमा बाँके जिल्लाको जनसंख्या ६ लाख ३ हजार ३९३ उल्लेख छ । जबकी राष्ट्रिय जनगणना २०६८ मा जिल्लामा ४ लाख ९१ हजार ३१३ जनसंख्या रहेको थियो । बृद्धि भएको जनसंख्यामा पुरुषको ५० हजार ८५७ र महिलाको जनसंख्या ६१ हजार २३३ बढेको छ । जनगणनाले महिलाको संख्या ३ लाख ८ हजार २८१ देखाएको छ । ०६८ को जनगणनामा १ लाख ४७ हजार ५८ थियो । पुरुषको जनसंख्या २ लाख ९५ हजार ११२ पुगेको छ । जबकी १० वर्षअघि २ लाख ४४ हजार २५५ थियो । घर धुरी पनि बृद्धि भएको छ । विगतमा ९४ हजार ७७३ घरधुरी रहेकोमा अहिले १ लाख ३१ हजार ९२७ पुगेको छ । बृद्धि भएको घरधुरीको संख्या ३७ हजार १५४ छ । यसअघि २.४४ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा अहिले ०.४७ प्रतिशतले घटेर १.९७ प्रतिशत मात्र छ ।
जिल्लाका स्थानीय तहमध्ये बैजनाथ गाउँपालिका देशकै गाउँपालिकामध्ये सबैभन्दा बढी ७० हजार ३१५ जनसंख्या रहेको उल्लेख छ (विस्तृत पढ्नुस् । कुन पालिकाको कति जनसंंख्या) । यो जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । विभागको तथ्यांक अनुसार नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या झन्डै ७ लाख बढी छ ।