बाघ संरक्षण गरेवापत बर्दिया निकुञ्जले पायो अन्तर्राष्ट्रिय अवार्ड
नेपालगन्ज : बाघ संरक्षणमा महत्वपूर्ण योगदान पु-याएको भन्दै बर्दिया राष्ट्रिय निकुञ्जले अन्तराष्ट्रिय अवार्ड पाएको छ ।
सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता अनुसार बर्दिया निकुञ्जमा उल्लेख्य संख्यामा बाघ बृद्धि भएपछि बर्दियाले उक्त अवार्ड जितेको हो । भारतको सत्यमंगलम् टाइगर रिजर्भले पनि बाघको संख्या बढाएवापत टी–एक्स–२ अवार्ड पाएको छ । यो वर्षको सेप्टेम्बरमा रुसमा हुने दोस्रो विश्व बाघ सम्मेलनमा अवार्ड उपलब्ध गराइनेछ । यो अवार्ड ग्लबोल टाइगर फोरम (जीटीएफ), डब्लुडब्लुएफ, कन्जर्भभेसन एस्यूर्ड टाइगर स्ट्यान्डर्टस (सीएटीएस), युएनडीपी, वाइल्डलाइफ कन्जर्भेसन सोसाइटी, फाउना एन्ड फ्लोरा इन्टरनेसनल, प्यान्थेरालगायतका संस्थाहरुले बाघ संरक्षणमा गरेका प्रयास र योगदानलाई मूल्याङ्कन गर्दै प्रदान गरिएको हो । सन् २००९ मा १८ वटा बाघ रहेको बर्दिया निकुञ्जमा सन् २०१८ मा उक्त संख्या बढेर ८७ पुगेको छ । यो वर्षको बाघ गणनामा पनि बाघको संख्या बढ्ने अनुमान गरिएको निकुञ्जले जनाएको छ । त्यसैगरी उत्कृष्ट बाघ संरक्षण मार्ग निर्माण गरेको भन्दै खाता करिडोर जैविक मार्ग समितिलाई पनि पुरस्कृत गरिएको छ ।