‘जिउँदोमा रक्तदान र मृत्युपछि अङ्गदान’को सन्देश बोकेका भारतीय विश्व साकइल यात्री नेपालगन्जमा

नेपालगन्ज : माघको कठ्याङ्ग्रिने जाडो । त्यसमा पनि साइकल यात्रा । यात्रा सोख र रहरका लागि पनि होइन । न त कुनै निहीत स्वार्थकै लागि हो । विश्वलाई एउटा सन्देश दिन भारत पञ्जाबका दुई साइकल यात्री दुई सातादेखि साकइल यात्रामा छन् । ‘जिउँदोमा रक्तदान र मृत्युपछि अङ्गदान’को सन्देश बोकेका लुधियाना पन्जाबका जतिन्दर सिंह र जतिन्दर सिंह विश्वसाइकल यात्राको १५औं दिनमा ३ हजार किलोमिटर दुरी पार गर्दै शुक्रबार नेपालगन्ज पुगेका हुन् ।
‘जिउँदो हुँदा रक्तदान गरेर अरुको जीवन बचाऔं । मृत्युपछि अङ्गदान गरेर पनि जटिल समस्याका मानिसलाई पुनर्जीवन दिन सकिन्छ’, सिंहद्वय भन्छन्, ‘मानिसको मृत्युपछि पनि मानवीय अंगहरु आँखा, कलेजो, आन्द्रा, किड्नी अर्को मानिसमा प्रत्यारोपण गर्न सकिने हुँदा आफ्नो मृत्युपछि अरु मानिसलाई पुनर्जीवन दिन मिल्ने अंगदान गरौं भन्ने सन्देश दिन र उत्प्रेरणा जगाउन हामीले साइकल यात्रा गरेका हौं ।’
भारतबाट उनीहरु सुदूरपश्चिम प्रदेशको वनवासा नाकाहुँदै नेपाल प्रवेश गरी महेन्द्रनगर, धनगढी भएर नेपालगन्ज आइपुगेको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताए । साइक्लिङ क्लबले उनीहरुलाई शनिबार नेपालगन्जमा भव्य स्वागत गरेको थियो । आत्मीयता पूर्ण स्वागत र सम्मानबाट आफूहरु निकै प्रभावित भएको र खुसी दिएको भएको साइकल यात्रीद्वय सिंहले प्रतिक्रिया दिए । उनीहरुको पहिलो चरणको यात्रा पन्जाब, बरेलीहुँदै नेपाल प्रवेश गरी महेन्द्रनगर, धनगढी , बर्दिया, नेपालगन्ज, लमही, बुटवल, नारायणगढहुँदै काठमाडौ भएर मेची पुलबाट सिलगुडी हुँदै मणीपुर भएर भुटानसम्मको यात्रा पूरा गर्ने लक्ष्य छ ।