नेपालगन्जमा देशमै सबैभन्दा बढी वर्षा

नेपालगन्ज : बाँके जिल्लाको नेपालगन्जमा शुक्रबार देशभरमै सबैभन्दा बढी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार नेपालगन्जमा ६४.८ मिलिमिटर वर्षा भएको छ । नेपालगन्जमा विहीबार दिउँसो, रातिदेखि शुक्रबार दिनभर पनि पानी परेको थियो । नेपालगन्जपछि देशमा दोस्रो वढी वर्षा भने वीरेन्द्रनगर सुर्खेतमा ५२.२ र तेस्रो बढी जुम्लामा ५०.७ मिलिमिटर वर्षा भएको महाशाखाको रेकर्डले देखाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्र दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, डोटी लगायतका जिल्लाका उच्च हिमाली र पहाडी क्षेत्रमा बिहीबार वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार बिहान हिउँ पर्न रोकिए पनि मौसम भने खासै सुधार भएको छैन । हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको छ । चिसो बढेकाले जनजीवन कष्ठकर बनेको छ ।