बाँके राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण सुरु भएको एक महिनापछि सरोकारवालाबीचको समन्वय बैठक

ढकेरी (बाँके) : बाँके राष्ट्रिय निकुञ्जमा राष्ट्रिय बाघ सर्भेक्षण सुरु भएको एक महिनापछि मात्र समन्वय बैठक डाकिएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जले मंगलबार ढकेरीस्थित कार्यालय परिसरमा डाकेको समन्वय बैठकमा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारीले यस्तो गुनासो गरेका हुन् ।
कोहलपुर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सावित्रा पुनले भनिन्, ‘कहिलेदेखि बाघ गणना सुरु भयो भन्ने हामीले थाहा नै पाएनौं । सरोकारवाबीच छलफल नै भएन । आधा काम सकिएपछि मात्र समन्वय बैठक डाकिएको छ ।’ उनले बर्दियाभन्दा पनि बाँकेबाट बाघ गणना गर्नुपर्ने तर्क गरिन् । त्यसैगरी राप्ती सोनारी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर विष्टले पनि बाघ गणना गर्दा सरोकारवालालाई जानकारी गराउनुपर्नेमा जोड दिएका थिए । गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बाघसँगै बाघका आहारजन्य प्रजातिको पनि गणना गर्न सुझाव दिएका थिए । सरोकारवालाहरुले बाघ संरक्षण गर्दा संख्या वृद्धि भइ बाघ नरभक्षी भएकाले निकुञ्जको क्षेत्र विस्तार गर्नुपर्नेमा पनि जोड दिएका थिए । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले बाघ संरक्षणसँगै जनताको जीउज्यानको रक्षा गर्नुपर्ने बताइन् ।
समन्वय बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाले नेपालमा बाघ गणना र यसको प्रक्रियाका बारेमा जानकारी दिएका थिए । डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधि सुवेदी र बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ गणनासँगै निकुञ्ज क्षेत्रमा बाघको क्षमताबारे पनि अध्ययन भइरहेको जानकारी दिएका थिए ।

बाँके–बर्दिया कम्प्लेक्स अन्तर्गत सी र डी ब्लकमा पर्ने बाँके राष्ट्रिय निकुञ्जमा २२ पुसदेखि बाघ गणना भइरहेको छ । सी ब्लकमा १६९ वटा क्यामरा र डी ब्लकमा १७५ वटा क्यामराबाट बाघ गणना हुँदैछ । २८ फागुनमा बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाको काम सकेर टोली शुक्ला कम्प्लेक्समा बाघ गणनामा खटिनेछ ।