राप्ती नदी पुलको ३५० मिटरमा बालुवा उत्खनन्, पुल जोखिममा (फोटो फिचर)

शब्द/फोटो : रमेशकुमार यादव । सिधनिया घाट (बाँके)
बाँकेको सिधनिया घाटमा रहेको राप्ती नदीको पुलको ३५० मिटर दुरीमा मापदण्ड विपरित बालुवा उत्खनन् भइरहेको छ ।

नेपाल सरकारको ढुंगा गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा सडक, पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् र संकलन गर्न नपाउने मापदण्ड छ । यो मापदण्डको धज्जी उडाउँदै दैनिक बिहानदेखि साँझसम्म पुल नजिकै ट्याक्टरका ट्याक्टरको ताँती बालुवा उत्खनन् गर्दै ओसारिरहेका छन् । डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि यहीबाट दिनहुँ ओहोरदोहोर गर्छन् तर मापदण्ड विपरितको दोहन रोक्न चुइक्क बोल्दैन । नदीजन्य पदार्थ ठेक्का दिने स्थानीय तहको अनुगमन समितिले पनि यो समस्यालाई बेवास्ता गरिरहेका छन् । जिल्लाको समग्र नदीजन्य पदार्थको अनुगमन र नियमन गर्ने जिससलगायतका जिम्मेवार निकाय पनि यस विषयमा मौन छन् । कम्दीको मिलन चोकमा प्रहरी छ । प्रहरी पनि रमिते बनिरहेको छ । यो उत्खनन्ले राप्ती नदीको पुल खतरामा परेको भन्दै स्थानीय चिन्तित भएका छन् । राप्तीनदीमा अवैध र जथाभावी दोहनका कारण नदीले भंगालो परिवर्तन गरेर बर्सेनि डुडुवा र राप्तीसोनारी गाउँपालिकाको खेती योग्य जमिन कटान गरिरहेको छ । बाढी गाउँमा पसेर डुबानको समस्या हुने गरेको छ ।