छारे रोग झारफुक र घरेलु जडिबुटीले निको हुँदैन : न्यूरो सर्जन डा. न्यौपाने

नेपालगन्ज : न्यूरो सर्जन डा.जोशन न्यौपानेले छारे रोग झारफुक वा घरेलु जडिबुटी सेवन गरेर निको नहुने बताएका छन् ।
नेपालगन्ज न्यूरोले सोमबार नेपालगन्जमा आयोजना गरेको छारे रोग सम्बन्धी साक्षत्कार कार्यक्रममा डा.न्यौपानेले छारे रोग ठूलो जनस्वास्थ्य समस्या भएकाले झारफुक गरेर, बोका काटेर र जडिबुटीको प्रयोग गरेर निको नहुने बताए । नियमित रुपमा दुई तीन वर्ष औषधि खाँदा भने रोग नियन्त्रण गर्न सकिने उनी बताउँछन् । उनले भने, छारे रोग पूर्ण रुपमा निको नहुन सक्छ । समयमै औषधि सेवन गर्न सकेमा नियन्त्रण गर्न सकिन्छ । नियन्त्रणमा आएका कतिपय व्यक्तिहरुमा पुनः रोग बल्झिने खतरा पनि हुन्छ । उनले आफूसँग पाँच सात सयको हाराहारीमा छारे रोगी नियमित सम्पर्कमा आउने गरेको बताउँदै ५० प्रतिशत रोगीमा रोग कसरी लाग्यो भन्ने एमआरआइ र सिटी स्क्यान गरेर पनि पहिचान नै नहुने उनको भनाइ थियो । छारे रोग लागेका व्यक्ति सुरुमा काप्ने र बिस्तारै बेहोस हुने गर्छन् । त्यसैले यस्ता व्यक्ति आगो, पानी नजिक नजाने, खोला नाला वा जंगलमा एक्लै नजाने, गाडी नचलाउने, बाइकको पछाडि पनि नबस्ने र सकेसम्म भीँडभाडमा नजान डा. न्यौपानेको सुझाव छ ।