नाटा बाँकेले क्षयरोगीका लागि ‘डे केयर सेन्टर’ बनाउँदै

नेपालगन्ज : नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँके शाखाले क्षयरोगीहरुको सुविधाका लागि डे केयर सेन्टर सञ्चालनको तयारी गरेको छ ।
नाटाको भवनमा क्षयरोगीलाई डट्स विधिमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने व्यवस्था गरिएको छ । क्षयरोगीले औषधि सेवन गरिसकेपछि आराम गर्न पाउने सुविधाको लागि डे केयर सेन्टर बनाउन लागिएको संस्थाका पूर्वअध्यक्ष पूर्णलाल चुकेले जानकारी दिए ।
नाटा बाँकेको सोमबार नेपालगन्जमा सम्पन्न २५औं वार्षिक जिल्ला साधारणसभामा पनि डे केयर सेन्टर निर्माणका लागि प्रस्तावित कोठाको निर्माणका लागि विभिन्न दाताहरुले करिब तीन लाख बढीको सहयोग गर्ने प्रतिवद्धता जनाएको संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्यले बताए । पर्खाल र कोठा गरी सेन्टर निर्माण गर्नका झन्डै ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अबको दुई तीन महिनाभित्रै सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । संस्थाले सेन्टरका लागि अपुग रकम सहयोग गर्न दाता तथा सहयोगी व्यक्तिसँग आग्रह पनि गरेको छ ।
संस्थाका शाखा सभापति बदरुद्दीन अन्सारीको अध्यक्षता सम्पन्न साधारणको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरले गरेकी थिइन् । साधारणसभामा पूर्वअध्यक्ष पूर्णलाल चुकेले स्वागत मन्तव्य, सचिव नरेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा भेरी सहकारी वित्तिय संस्था लिमिटेडका निवर्तमान अध्यक्ष तथा नाटा बाँकेका आजीवन सदस्य बसन्त लामिछाने, लायन्स क्लब इन्टरनेशनलका बी २ का पूर्व गर्भनर मधुसुदन शर्मा र निवर्तमान सभापति शान्ति श्रेष्ठले साधारणसभाको सफलताको कामना गरेका थिए । त्यसैगरी अगामी १२ चैत्रमा नेपालगन्जमा हुन गइरहेको नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय सभाको लागि विभिन्न उप–समितिहरु पनि गठन गरिएको छ ।