‘टुर दी ठाकुरद्वारा’ साइकल यात्राको चौथो संस्करण सुरु
नेपालगन्ज : नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा टुर दी ठाकुरद्वारा चौथो संस्करण साइकल महोत्सव २०२२ सुरु भएको छ । साइकल पर्यटनमार्फत देश विदेशका पर्यटकहरुलाई बाँके र बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको भ्रमण गराउने उद्देश्यले साइकल यात्रा सुरु भएको हो ।
‘संस्कृति, प्रकृति, पर्यटन र खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको साइकल यात्रामा छिमेकी मुलुक भारतबाट १४ जना, महिला साइक्लिष्ट २५ गरी २ सय बढी साइकल यात्रीको सहभागिता रहेको नेपालगन्ज साइक्लििङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
भारतका साथै पूर्वदेखि पश्चिमका साइकल यात्रीहरु यसरी भ्रमणमा निस्किँदा साइकल पर्यटनको माध्यमबाट देशको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने, तनाव कम भएर स्वास्थ्य राम्रो हुने र आपसी मित्रता र सम्बन्धलाई निकै प्रगाढ बनाएको साइकल यात्रीहरुको भनाइ छ । नेपालगन्ज साइक्लिङ क्लबले देश विदेशका पर्यटकहरुलाई बाँके बर्दियाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने उद्देश्यले २०७५ सालदेखि यो अभियान सुरु गरेको हो । यात्रामा विश्व साइकल यात्री पुस्कर शाहलगायत विभिन्न साइकल यात्रीको सहभागिता रहेको छ ।