कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको उपाधि भैरवप्रसाद गणलाई

नेपालगन्ज : कमाण्ड सेनापति ट्रफी २०७८ फुटबल प्रतियोगिताको उपाधि नेपालगन्जमा रहेको भैरवप्रसाद गणले जितेको छ ।
भैरवप्रसाद गण आयोजक रहेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा आयोजक भैरवप्रसादले चन्दननाथ गण मालिका ब्यारेक जाजरकोटलाई १ र ० को अन्तरमा पराजित गरेको हो । प्रतियोगिता जिताउन भैरवप्रसाद गणका खेलाडी अनिश लामाको एक मात्र गोल निर्णायक बनेको थियो । खेलको दोस्रो हाफमा भैरवप्रसादलाई निकै दवाबमा राखेको चन्दननाथले धेरै वटा गोलका अवसर गुमाएको थियो । प्रतियोगिताका विजेता, उपविजेतालाई पश्चिम कमाण्ड सेनापति प्रेम शाही, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा नेपाली सेनाका ८ वटा टिमको सहभागिता रहेको थियो ।