निजी विद्यालयका विद्यार्थीलाई पनि उच्चशिक्षामा छात्रवृत्तिको अवसर दिन नेशनल प्याब्सनको माग

नेपालगन्ज : राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसियन नेपाल (नेशनल प्याप्सन)ले निजी विद्यालयमा पढेका विद्यार्थीलाई पनि उच्चशिक्षा अध्ययन गर्दा छात्रवृत्ति कोठामा सहभागी हुन दिनुपर्ने माग गरेको छ ।
आगामी २२( २३ मा नेपालगन्जमा आयोजना हुने नेशनल प्याब्सनको सातौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले सञ्चालनका हिसाबले सामुदायिक र संस्थागत विद्यालय भनिए पनि विद्यार्थीमाथि भने विभेद गर्न नहुनेमा बताए । उनले भने, बालबालिकामाथि सरकारी र निजी भनेर छात्रवृत्तिमा गरिने विभेद सबैभन्दा पेचिलो छ । यसका लागि छात्रवृृत्ति सम्बन्धी ऐन संशोधन हुनुपर्छ ।
त्यसैगरी महाधिवेशनमा प्राविधिक शिक्षामा निजी विद्यालयको सहभागिता सुनिश्चित हुनुपर्ने विषयमा पनि छलफल हुनेछ । नेशनल प्याब्सनले विद्यालयका लागि तीन तहकै सरकारको नीति मान्नुपर्ने अवस्था रहेको भन्दै स्थानीय तहको मातहतमा राखेर सहजीकरण गर्नुपर्ने एजेण्डा पनि महाधिवेशनका लागि रहेको छ । महाधिवशनमा ४७ जिल्लाका करिव १ हजार ५ सय जनाको सहभागिता हुने अध्यक्ष सापकोटाले जानकारी दिए । नेशनल प्याब्सनमा देशैभरका करिब ३ हजार विद्यालय आवद्ध छन् ।