नेशनल प्याब्सनको सातौं राष्ट्रिय महाधिवेशन नेपालगन्जमा सुरु

नेशनल प्याब्सनको ७औं राष्ट्रिय महाधिवेशनको नेपालगन्जमा उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल

रमेशकुमार यादव । नेपालगन्ज

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन)को सातौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि नेपालगन्जमा सुरु भएको छ । संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आइतबार नेपालगन्जको पाँच तारे होटल सोल्टी वेष्टेण्ड प्रिमियरमा महाधिवेशनको उद्घाटन गरेका हुन् ।

मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालयले ४ वटा ऐनको मस्यौदा तयार गरेर कानुन मन्त्रालयमा पठाइसकेको बताए । नेशनल प्याब्सनलगायतका निजी विद्यालयहरुको माग बजोजिम सरकारले संस्थागत (बोर्डिङ) विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि उच्चशिक्षा अध्ययन गर्न छात्रवृत्ति कोटामा समावेश गर्ने तयारी गरेको मन्त्री पौडेलले बताए । अहिलेसम्म सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले मात्र यस्तो छात्रवृत्तिको सुविधा पाउँछन् ।दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा नेसनल प्याब्सनमा आबद्ध देशका ४७ जिल्लाका एक हजार २ सय बढी निजी विद्यालयका सञ्चालक÷प्रिन्सिपलको सहभागिता रहेको महाधिवेशन प्रतिनिधि चिरञ्जीवी चन्दले जानकारी दिए । महाधिवेशनको उद्घाटन हुनु अघि नेपालगन्जको धम्बोझी चोकबाट झाँकीसहितको प्रभातफेरि गरिएको थियो ।