कर्णालीको पर्यटन ‘नेपालको लागि स्वीजरल्याण्ड’

नेपालगन्ज : कर्णाली प्रदेशमा पर्यटकीय क्षेत्रको विकास गर्न सके नेपालको स्वीजरल्याण्ड बन्नसक्ने पर्यटन क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।
वेष्टर्न ट्राभल मार्टको अवसरमा नेपालगन्जको चार तारे होटल सिद्धार्थ भ्यूमा बिहीबार साँझ आयोजना गरिएको टेक्निकल सेसनको क्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरुले यस्तो आँकलन गरेका हुन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले कर्णाली प्रदेश पर्यटन क्षेत्रको विकासका लागि भर्जिन क्षेत्र भएको बताए । विकट कर्र्णाली प्रदेशमा सडक यातायातसमेत राम्रो नभएकाले पर्यटकीय गतिविधि नबढेको बताए । उनले भारतीय पर्यटकहरुका लागि पनि नेपालको पश्चिम क्षेत्रमा धार्मिक, सांस्कृतिक, जैविक विविधतालगायतका पर्यटकीय क्षेत्र उपयुक्त गन्तव्य भएको जिकिर गरे । कर्णाली प्रदेशमा स्वर्गकी अप्सराको उपमा पाएको राराताल, शेफेक्सुण्डो ताल, दैलेखको ज्वाला क्षेत्रलगायतका दर्जनौ पर्यटकीय क्षेत्र छन् ।
त्यसैगरी होटल एशोसियसन नेपाल (हान)का बरिष्ठ उपाध्यक्ष विनय शाहले पश्चिम नेपालमा पर्यटकीय गन्तव्यको विकासका लागि राज्यले गुरुयोजना बनाएर नै काम गर्नुपर्नेमा जोड दिए । उनले भने, निजी क्षेत्रले आफ्नै बल बुताले पर्यटन क्षेत्रको विकासमा योगदान गरेको छ । त्यसको सहजीकरणका लागि सरकारले नीति निर्माण र गुरुयोजना बनाउन आवश्यक छ ।
कार्यक्रममा पत्रकार शंकरप्रसाद खनालले पश्चिम नेपालको बाँके, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशकका पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराएका थिए । उनले पश्चिमको पर्यटन क्षेत्रलाई कस्तुरीको बीना जस्तै पहिचान गर्न नसकिएको र पर्यटन क्षेत्रको विकास गर्न सकेमा सुनको फूल पार्ने कुखुरी जस्तो भएको उपमा दिएका थिए ।
पर्यटन विज्ञ रामजी पाठकले पश्चिमका पर्यटकीय गन्तव्यको व्यापक प्रचार प्रसारको अभाव भएकाले टुर प्याकेजको रुपमा विकास गर्नुपर्ने बताएका थिए । टेक्निकल सेसनको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा(का केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईले गरेका थिए । कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी र पत्रकारको सहभागिता रहेको थियो ।