समूहमा मासिक ५ रुपैयाँ बचत गर्ने महिला, सहकारी बनाएर करोडौँको कारोबार गर्दै

मानबहादुर ठकुल्ला । टीकापुर
‘एकले थुकी सुकी, सयौं थुकी नदी’ भन्ने उखान कैलालीको जानकी गाउँपालिका–४ का महिलाको जीवनसँग ठ्याक्कै मेल खान्छ । गाउँमा गठन गरिएको समूहमा ५ रुपैयाँबाट बचत गर्दै अहिले करोडौंको कारोबार गर्ने यहाँका महिलाले ‘सानो–सानो लगानी, वर्षौ–वर्षसम्म ढुक्कको आम्दानी’ भनेर साबित गरेका छन् ।
‘हामीले समूहमा मासिक पाँच रुपैयाँ बचत गर्थ्यौं । बढी गर्नेले पनि २० रुपैयाँसम्म मात्र बचत गर्थे’, तत्कालीन स्मृति महिला कृषक समूहकी अध्यक्ष रितादेवी वडायकले ती दिन सम्झिन्, ‘गाउँमा शंकरपुर, बेलपुर, झालाटोल, कञ्चनपुर, जवलपुर गरी सुरुमा १० वटा र पछि थप ७ गरी १७ समूह थिए । एउटा समूहमा १० देखि बढीमा २० जना सदस्य हुन्थे । ती सबै समूहलाई मिलाएर सहकारी बनाउने सोच आयो । हामी सफल पनि भयौं ।’
आजभन्दा ८ वर्ष अघि मुनुवाको मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना यसरी भएको थियो । २५ महिला सदस्यको सक्रियतामा ३५ हजार रुपैयाँ शेयर पूँजीबाट २०७० सालमा सहकारी स्थापना हुन्छ । समूहकी अध्यक्ष रहेकी वडायक अहिले सहकारीको अध्यक्ष भएकी छिन् । ५ रुपैयाँ बचत हुँदै ३५ हजार रुपैयाँबाट सहकारी बनेर अहिले करोडौंको कारोबार गरिरहेको कोषाध्यक्ष लक्ष्मी पुन बताउँछिन् । ‘सहकारी बनाएर यति ठूलो कारोबार गरौला भन्ने नसोचेकै थिएनौं’, आफैले गरेको कामबाट अचम्म मान्दै सहकारीकी सचिव सावित्री कठरियाले अनुभव सुनाइन् ।
सहकारीले जानकी गाउँपालिका वडा न २, ४ र ७ मा कार्यक्षेत्र बनाएको छ । सहकारीमा अहिले ३३५ जना शेयर सदस्य पुगेका छन् । वार्षिक ८० लाखको हाराहारीमा कारोबार हुने गरेको सहकारीका व्यस्थापक पार्वती बजगाईले जानकारी दिइन् । ग्रामीण स्तरका दिदिबहिनीको सहकारीप्रति आकर्षण बढाएर जिविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा रहेको सहकारीले ब्यवसाय गर्ने महिलालाई एक लाख रुपैयाँसम्म बिना धितो ऋण लगानी गर्छ । कृषि व्यवसाय गर्ने महिलालाई ५० हजार रुपैयाँसम्म बिना धितो ऋण दिने गरेको उपाध्यक्ष विमला शाहले बताइन् । अहिलेसम्म करिब ६५ लाख रुपैयाँ लगानी भएको छ । समूह बनाएर ५ देखि २० रुपैयाँबाट बचत गर्दै सहकारी दर्ता गरी अहिले किरोडौंमा कारोबार गर्ने कार्य अरुका लागि प्रेरणा बन्ने जानकी गाउँपालिका कन्चनपुका रामेश्वर रेग्मी प्रशंशा गर्छन् ।