टीकापुरमा विजेतालाई १ लाख ५१ हजार राशीको पुरस्कार दिने भलिबल प्रतियोगिता हुँदै

File Photo

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा विजेता टिमलाई एक लाख ५१ हजार पुरस्कार राशी रहेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टीकापुर नगर खेलकुद विकास समितिको संयोजन तथा सिर्जनशील युवा समाज नेपाल र गुडिमुन्टे समूहको आयोजनामा आगामी १४ चैत्रदेखि यस क्षेत्रकै सर्वाधिक धनराशीको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको कार्यक्रम संयोजक नन्दसिंह विकले जानकारी दिए ।
गत वर्ष विजेता टिमलाई ५० हजार पुरस्कार थियो । दोस्रो संस्करणमा राशी बढाएर एक लाख ५१ हजार एक रुपैयाँ बनाइएको विकले बताए । उपविजेताले ७० हजार, तेस्रो टिमले ३० हजार र सान्तवनाले १० हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । टीकापुरको भानु चोक (कान्छी बजारमा) हुने प्रतियोगितामा सहभागी हुने टिमले १३ चैतसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । टीकापुरमा लामो समयदेखि मनोरञ्जनका कार्यक्रमहरु समेत नभएको बताउँदै गुडिमुन्टे समूहका संयोजक राजेन्द्र विश्वकर्माले प्रतियोगितासँगसँगै विभिन्न कलाकारहरुको प्रस्तुत समेत रहने बताएका छन् ।