अख्तियारमा बाँकेका स्थानीय तहका भ्रष्टाचारका उजुरी धेरै

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीमध्ये बाँकेमा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी दर्ता भएका छन् । विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको आयोगले जनाएको छ ।
अख्तियार नेपालगन्जका प्रमुख विजयराज पौडेलका अनुसार गत आर्थिक वर्ष ०७७÷७८ देखि चालु आर्थिक वर्षको हालसम्म कार्यक्षेत्र अन्तगर्तका चार जिल्लाका उजुरी मध्ये बाँकेका २६५, दाङका २०९, बर्दियाका १११ र रोल्पाका ३३ वटा गरी कुल ६१८ उजुरी दर्ता भएका छन् । ती मध्ये ३०७ उजुरीको छानबिन सम्पन्न भएको छ भने ३११ उजुरी फछ्यौट हुन बाँकी रहेका छन् । चार जिल्लामध्ये सबैभन्दा धेरै बाँकेका स्थानीय तहका ११३ वटा उजुरीहरु दर्ता भएका छन् । जसमध्य ६८ उजुरी फ्छर्यौट भएका छन भने अझै ६५ उजुरी बाँकी रहेका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको उनको बताए ।
सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रकृया र नियम कानूनको पालना नगर्ने नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समिति सम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको बताइएको छ ।