औषधि सेवन गर्न नमानेपछि बाँकेमा हात्तीपाइले रोग निवारणमा चुनौती

नेपालगन्ज : बाँकेमा हात्तीपाइले रोगको औषधि खुवाउने कार्यक्रम बाह्रौ वर्षमा जारी छ । सरकारले सन् २०३० भित्र नेपालबाट हात्तीपाइले (फाइलेरिया) रोगको निवारण गर्ने लक्ष्य लिए पनि जिल्लामा हात्तीपाइलेका संक्रमित देखिन थालेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले फोकल पर्सन दुर्गा गौतमका अनुसार फागुन २८ गते देखि सुरु भएको औषधी खुवाउने अभियानका क्रममा विभिन्न स्थानमा केही हात्तीपाइलेका बिरामीहरु भेटिएका छन् । उनीहरुले यसअघि औषधी सेवन नगरेको पाइएको उनले बताइन् । खासगरी मधेसी र मुस्लिम समुदायमा हात्तीपाइलेको औषधिप्रतिको अन्धविश्वास र नकारात्मक धारणाले औषधि सेवन गर्न नमान्ने गरेको फोकलपर्सन गौतमले बताइन् ।
स्थानीयका अनुसार यसअघिका औषधी खुवाउने अभियानमा घरमा खाने भन्दै औषधि बोकेर लैजाने गरे पनि औषधि सेवन नगरी फाल्ने गरिएको छ । नेपालगन्ज–१६ जैसपुरका एक स्थानीयले भने, ‘हामीले त नियमित खाइरहेका छौ तर यहाँका धेरै मान्छेले विगतमा औषधि लिएर फालेका छन ।’ औषधि सेवन नगरी फाल्न थालेको गुनासो आएपछि यसपटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्न लगाएको स्वास्थ्यकर्मीहरु बताउँछन् । रोग निवारण गर्न चुनौती देखिएपछि स्वास्थ्य कार्यालयले मुस्लिम समुदायका धर्मगुरु, वडाध्यक्षलगायत सरोकारवालासँग छलफल थालेको जनाएको छ ।