होलीको तयारीमा सजियो नेपालगन्जको त्रिभुवन चोक (फोटो फिचर)

नेपालगन्ज : होली पर्वको तयारीमा नेपालगन्जको त्रिभुवन चोक आकर्षक रुपमा सजिएको छ ।
यसअघिका दुई बर्ष कोरोना महामारीका कारण सुनसान भए पनि यसपाली भने होलीका लागि विभिन्न रंगिविरंगी रङ, बेलुन, पिचकारी तथा टीसर्टले चौकको सौन्दर्यता बढाएको छ । नेपालगन्जमा खासगरी ४ गते होली मनाउने भए पनि मिश्रित समुदायको बसोबास रहेकाले ३ गते र ४ गते दुई दिन मनाउने होलीको तयारी थालिएको हो । हिन्दु धर्मावलम्बीहरुले मनाउने हरेक चाडपर्वको अवसरमा सजिने नेपालगन्जको मुटु त्रिभुवनचोक होली पर्वको अवसर पारेर होलीको अघिल्लो दिनदेखि नै सजिएको छ ।

बिहीबार पहाडी समुदाय र शुक्रबार मधेशी समुदायले मनाइने होली नेपालगन्जमा दुबै दिन मनाइन्छ । नेपालगन्ज बजारका चोक–चोकमा होली लेखिएका टिसर्ट र रंगहरुको बजार थापिएका छन् । रंग अबिर लगायतका सामग्रीहरु खरिद गर्न आउनेहरुको संख्या बढ्दै गएको छ ।