आज पहाडी र हिमाली क्षेत्रमा होली, तराईमा पनि मनाइँदै

नेपालगन्ज : रंगहरुको पर्व होली अर्थात फागु पूर्णिमा बिहीबार हिमाली र पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । तराईमा होली दोस्रो दिन भए पनि दुई दिन नै मनाइन्छ ।
आपसी मेलमिलाप र सदभावनाको सन्देशका साथ रङ खेलेर होली मनाउने परम्परा छ । होली परिवारका सदस्य र अफिसमा पनि मनाइन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा छ ।