नाटाको ४२औं केन्द्रीय अधिवेशन सम्पन्न
नेपालगन्ज : नेपाल क्षयरोग निवारण संस्था (नाटा)को ४२औं केन्द्रीय अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।
अधिवेशनको शनिबार नेपालगन्जमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले उदघाटन गरेका थिए । मन्त्री थारूले लुम्बिनी प्रदेशबाट क्षयरोग निमूल पार्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।
नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष मदन काजी श्रेष्ठको अध्यक्षतामा अधिवेशनमा लायन्स क्लव इन्टरनेशनल बिटूका पूर्वगभर्नर मधुसुदन शर्मा रिजाल, डामियन फाउण्डेशनका कन्ट्री डाइरेक्टर डा. सुशील कोइराला, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धन सम्झना, नाटा बाँके शाखाका सभापति बदरुद्दीन अन्सारीले अधिवेशन सफलताको कामना गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश स्वास्थ्य मन्त्री इन्द्रजीत थारु संस्थाद्वारा प्रदान गरिने ओत्सुका पुरस्कार विभिन्न जिल्ला शाखा र स्वयम्सेवीहरु तथा प्रोत्साहन पुरस्कार कर्मचारीहरुलाई प्रदान गरिएको थियो ।
त्यसैगरि संस्थाका केन्द्रीय अध्यक्ष श्रेष्ठ तथा उपाध्यक्ष वेदप्रसाद कोजूले बाँके जिल्ला शाखाको भवन निर्माण र अधिवेशनका लागि सहयोग गर्ने दाताहरुलाई प्रशंसा पत्र तथा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । बन्द सत्रमा उपाध्यक्ष वेदप्रसाद कोजूले प्रस्तुत गरेको संस्थाको संघीय संरचना अनुरुपको संशोधित विधान पारित गरिएको थियो । महासचिव राजन श्रेष्ठले संस्थाको सांगठनिक प्रतिवेदन र उपमहासचिव राधादेवी श्रेष्ठले आर्थिक प्रतिवेदन पनि पारित भएको थियो।
अधिवेशनमा ३५ जिल्लाका संस्थाका प्रतिनिधि, नेपाली तथा भारतीय सञ्चारकर्मीहरु, सामाजिक कार्यकर्ताहरु तथा क्षयरोग विरुद्धका अभियन्ताहरु समेत १७९ जनाको सहभागिता रहेको थियो ।








