पत्रकारको पेशागत सुरक्षा र व्यवसायिकताबारे चिन्ता

नेपालगन्ज : बाँकेमा क्रियाशील मिडिया सम्बद्ध संघसंस्थाले जिल्लाका पत्रकारको पेशागत सुरक्षा र व्यवसायिकताबारे चिन्ता गरेका छन् ।
नेपाल पत्रकार महासंघ ६७औं स्थापना दिवसको अवसरमा बाँके शाखाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मिडिया सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पत्रकारको हक हित, प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको पेशागत सुरक्षा लगायतका विषयमा महासंघकै अगुवाइमा सहकार्य गरेर संयुक्त रुपमा काम गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्वअध्यक्ष निरज गौतम, प्रदेश समिति सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका जिल्ला अध्यक्ष डक्टप्रसाद धिताल, प्रगतिशील पत्रकार संगठनका तिलक गाउँले, सञ्चारिका समूहको जिल्ला अध्यक्ष रुपनी जीएम र नेपाल प्रेस यूनियनका सचिव विजय मल्लले महासंघको सफलताको कामना गरेका थिए ।