ट्राफिक प्रहरीलाई आइल्याण्ड हस्तान्तरण

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकामा ट्राफिक प्रहरी आइल्याण्ड हस्तान्तरण गरिएको छ ।
टीकापुर-६ नारायणपुरका व्यापारी तथा समाजसेवी स्व. रतनसिंह कडायतको स्मृतिमा उनकी धर्मपत्नी रम्भा कडायत र जेठा छोरा किरण कडायतले हस्तान्तरण गरेका हुन् । एक लाख २० हजार रुपैयाँमा निर्माण गरिएको आइल्याण्ड खक्रौला टीकापुर र भजनी सत्ती सडक खण्डको खैरीपुर चोकमा राखिएको छ ।
कडायत परिवारले बुधबार नगर प्रमुख तपेन्द्रबहादुर रावल र सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय प्रमुख एसएसपी प्रविण धिताललाई आइल्याण्ड हस्तान्तरण गरेका हुन् । नगर प्रमुख रावलले टीकापुरमा सडक दुर्घटनाका घटना बढ्दै गैरहेको अवस्थामा ट्राफिक प्रहरी आइल्याण्ड निर्माणले सडक दुर्घटनामा कमी आउने बताए ।
प्रदेश ट्राफिक प्रहरी प्रमुख धिताल सडकमा मोटरसाइकल दुर्घटनाको प्रमुख कारण तिव्रगतिमा मोटरसाइकल हाँक्नु रहेको बताउँदै हुलाकी सडकको चौबाटोमा स्थापना भएको ट्राफिक प्रहरी आइल्याण्ड निर्माणले दुर्घटना कमि हुने बताउँछन् ।
कार्यक्रममा टीकापुरकी नगर उप–प्रमुख केशरी बिष्ट, टीकापुर–७ का अध्यक्ष रामलाल डगौरा थारु, स्व.रतनसिंह कडायतका दाइ तथा कांग्रेस नेता फकिरसिंह कडायत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वकिलबहादुर सिंहले स्व. रतनसिंह कडायतको स्मृतिमा ट्राफिक प्रहरी आइल्याण्ड निर्माण गरिनु सराहनीय काम भएको बताएका थिए । सो अवसरमा आइल्याण्ड सहयोग गर्ने रम्भादेवी कडायत र किरण कडायतलाई ट्राफिक प्रहरीले दोसल्ला ओढाएर सम्मान गरेको थियो । यसअघि टीकापुर नगरपालिकाको वडा नं. ७ ले पनि कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली पुलमा बिट सहयोग गरेको वडा अध्यक्ष डगौराले जानकारी दिए ।