राप्ती नदीमा खुलेआम जेसीबीबाट उत्खनन् !
रमेशकुमार यादव । गौरी खजुरा
राप्ती नदीमा पानी बहाव क्षेत्रको किनारमा लस्करै ट्रिपर छन् । जेसीबीले नदीभित्रबाटै पानीको धारा चुवाउँदै नदीजन्य पदार्थ उत्खनन् गर्छ । बाँके जिल्लाको डुडुवा गाउँपालिका–५ मा पर्ने गौरी खजुरा नाकामा यस्तो दृश्य दिउँसै देख्न सकिन्छ । मापदण्ड विपरित उत्खनन् भइरहेको क्षेत्रदेखि मुस्किलले एक किलोमिटरको दुरीमा कम्दीमा प्रहरी चौकी छ । प्रहरी मुकदर्शक हुन्छन् । डेढ किलोमिटरको दुरीमा डुडुवा गाउँपालिकाको कार्यालय छ । जनप्रतिनिधि पनि मौन छन् । डुडुवा–५ का वडा अध्यक्ष पर्शुराम बुढाथोकीले मापदड विपरित उत्खनन् भएको भए कारबाही गर्न गाउँपालिकाले नै मुद्दा हाल्नुपर्ने बताउँछन् । उनी गुनासो गर्छन्, ‘हाम्रो प्राकृतिक सम्पदामाथि भइरहेको दोहन र गलत कार्यविरुद्ध गाउँपालिकाले किन रोक्न सक्दैन ?’
मापदण्ड विपरित उत्खनन् हुँदा नदीको बहाव नै परिवर्तन भएको छ । यो क्षेत्र सिधनीयास्थित राप्ती नदीको पुलबाट मुस्किलले एक किलोमिटर उत्तरमा पर्छ । खोलामा चार किल्ला छुट्टयाइएको छैन । मनपरि ढंगले उत्खनन भइरहेको छ । यहाँ कुनै अनुगमन समिति पुगेको छैन। जेसिबी प्रयोग गरेर एकै दिनमा ४०० देखि ५०० ट्रिपर नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। डुडुवा गाउँपालिकाले २ करोड रुपैयाँमा नदीजन्य पदार्थको ठेक्का दिएको छ ।