माओवादीले संकटमा देश बचाएको छ : प्रचण्ड

नेपालगन्ज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकटका बेला देशलाई बचाएको दाबी गरेका छन् ।
माओवादी केन्द्रले बिहीबार नेपालगन्जमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनकै कारण देशमा गणतन्त्र, संघीयता, समावेशीताको अधिकार स्थापित भएको बताए । उनले भने, ‘जति जति बेला देशमा संकट आउँछ । संविधानमा संकट आउँछ । माओवादीले देशलाई बचाएको छ ।’ उनले नेपाली जनतामा फेरि माओवादीप्रति जागरण पैदा भएको जिकिर गरे ।
बिहीबार नै नेपालगन्जमा पार्टीका नेता स्वर्गीय दामोदर आचार्यको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीले एक इमान्दार र निष्ठावान नेता गुमाएको बताए । शोकलाई शक्तिमा बदल्दै नेपालगन्जको संगठन निर्माणमा जुटेर स्वर्गीय आचार्यको सपना पूरा गर्न नेता कार्यकर्तालाई आह्वान गरेका थिए ।