बर्दियामा सहकारीको रकम हिनामिना गर्ने तीन जना पक्राउ, २ करोड ६४ लाख जरिवाना

गुलरिया : बर्दियामा सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका तीनजना व्यक्ति बाँसगढीवाट पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीका अनुसार संस्थाको रकम हिनामिना गरी ६ महिना देखि फरार रहेका बासगढी–५ का मटराम थारु, फत्तु थारु र हरिराम थारु पक्राउ परेका हुन । जिल्ला अदालत गुलरिया बर्दियाको ०७८ असोज १३ गतेको फैसलाले कैद र जरिवाना तोकीएपछि उनीहरु फरार रहेका थिए ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय, मोतीपुरवाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरी नायव उपरिक्षक शाहीको भनाई छ ।
पक्राउ परेका तीनैजनासंग करिव २ करोड ६४ लाख जरिवाना तोकिएको छ । जसमध्य मटराम थारु र फत्तु थारुलाई जनही २ वर्ष ८ महिना एकदिन कैद र ८८ लाख २ हजार ६ सय १५ रुपैयाँ जरिवाना तोकेको छ भने हरिराम थारुलाई ८७ लाख ८९ हजार १ सय १५ रुपैयाँ जरिवाना मात्र तोकेको बर्दिया प्रहरीले जनाएको छ ।