जातीय विभेद र मानव बेचबिखनविरुद्ध क्रियाशील मानव अधिकार रक्षकलाई धम्की

नेपालगन्ज : जातीय विभेद र मानव बेचविखनविरुद्ध क्रियाशील कैलाली र कञ्चनपुर जिल्लामा मानव अधिकार रक्षकलाई धम्की आउने गरेको छ ।
इयु डेलिगेशन मिशनले कैलाली, कञ्चनपुर र बाँके जिल्लामा क्रियाशील मानव अधिकार रक्षकसँग स्थलगत रुपमा गरेको भेटघाटको क्रममा उनीहरुले धाकधम्की आउने गरेको बताएका हुन् । इयु डेलिगेशन मिशनका डेपुटी हेड स्टेफेन माइकोनले बुधबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा मानव अधिकार रक्षकको भनाइ उद्दृत गर्दै भने, जातीय भेदभावका घटना र मानव तस्करीका विरुद्धमा काम गर्दा टेलिफोनबाट धम्की आउने गरेको बताएका थिए ।
मानव अधिकार रक्षकको संस्थागत पहिचान हुने हो भने यस्ता चुनौतीको सामना गर्न सकिने इयु टोलीले निष्कर्ष निकालेको छ ।
इयु डेलिगेशन मिशन टोलीमा स्टेफेनका साथै जर्मन एम्बेसीकी लाउरा लुक्बाआरा, इयु डेलिगेशनकी राजनीतक अधिकृत लिशा साफ्रिक, इयु डेलिगेशन मिशनका सिनियर प्रोजेक्ट मेनेजर शिव भण्डारी र इन्सेक कार्यकारी निर्देशक विजय गौतम संलग्न थिए । टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्र्रहरी प्रमुख, मानव अधिकार रक्षक, अधिकारकर्मी, नागरिक अगुवासँग भेटघाट गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरसँग पनि टोलीले भेट गरेको थिए । उपप्रमुख थापा मगरले निर्वाचनको बेलामा महिलालाई ३३ प्रतिशत संख्या निर्धारण गरिए पनि ब्यवहारमा नउतारेर महिला अधिकार हननबारे सरकारलाई धारणा राख्न आग्रह गरेका थिए ।