बर्दियाको विश्वासिलो सहकारीमा थप ३ सहकारी एकीकरण

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिका ८ मढेलामा केन्द्रीय कार्यालय रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थामा थप ३ वटा सहकारी एकीकरण भएका छन् ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्मा रिजालका अनुसार लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा सहकारी मन्त्रालयको सहकारी दर्ता अधिकारीको कार्यालय दाङको स्वीकृतिमा गत ४ वैशाखमा विश्वासिलो, बारबर्दिया नगरपालिका ६ को निगरानी महिला कृषि सहकारी संस्था लि., बारबर्दिया नगरपालिका १० को दिया महिला कृषि सहकारी संस्था लि. र मधुवन नगरपालिका १ को पारिजात महिला कृषि सहकारी संस्था लि.बीच एकीकरण भएको हो । यसअघि १ असोज ०७६ मा पनि ३ वटा सहकारीबीच एकीकरण भएको थियो । वचत र ऋण जिल्लाकै सबैभन्दा ठूलो सहकारी विश्वासिलोको गत वर्षदेखि जिल्लाका सबै (८ वटै) स्थानीय तहमा गरी २० सेवा केन्द्र छन् । सहकारीले ६० करोड ५७ लाख २६ हजार रुपैयाँको कारोबार गरेको सिइयो रिजालले जानकारी दिए । सहकारीमा १९ हजार ७ सय १५ सदस्य छन् । ३ जेठ २०५२ मा स्थापना भएको यो सहकारी २८ जना मात्र शेयर सदस्य र २८ हजार शेयर पूँजीबाट सुरु भएको हो । संस्थाले बढीमा ५० लाख रुपैयाँसम्म कर्जा दिने गरेको छ । सहकारीमा ६५ जना कर्मचारीले रोजगारी पाएका छन् । विश्वासिलोले सदस्यलाई मोबाइल एप्स, इन्टरनेट बैकिङ, एसएमएस अलर्ट सेवा सञ्चालनमा ल्याएको छ ।