उच्च अदालत नेपालगन्जद्वारा बेपत्ता मुद्दाको जाहेरी दर्ता गर्न आदेश

नेपालगन्ज : उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले बेपत्ता सम्बन्धी बर्दियाका दुई मुद्दामा परमादेशको आदेश जारी गरेको छ ।
एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमका अनुसार बर्दियाका पदमबहादुुर थारु, गरिवुवा थारु र देवीसरा वलीले दर्ता गराएको दुई छुट्टाछुट्टै परमादेश मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय केशवराज जोशी र पुरुपोत्तमप्रसाद ढकालको संयुक्त इजलासले बुधबार परमादेशको आदेश जारी गरेको हो ।
नयाँ मुलुकी फौजदारी संहिता र अन्तर्राष्ट्रिय कानूनले बेपत्तालाई फौजदारी अपराध माने पनि द्वन्द्वकालीन बेपत्ता मुद्दाहरुको जाहेरी दर्ता भइ अनुसन्धान हुन सकेको छैन । बेपत्ता ब्यक्ति सार्वजनिक नभएसम्म बेपत्ता निरन्तरको अपराध भएकाले फौजदारी कसुरमा अपराध अनुसन्धान गरि पीडितलाई न्यायको प्रत्याभुति गराउनु पर्ने पीडितको पक्षमा वकालत गर्दै आएका अधिवक्ता गौतमले बताए । अदालतले बेपत्ता सम्बन्धी मुद्दा दर्ता गर्न सायद नेपालमै पहिलो पटक परमादेशमा रिट जारी गरेको हो । आदेशको बिस्तृत बिवरण आउन बाँकी छ । अदालतको यस आदेशले पीडितमा न्यायको आशा पलाउने अधिवक्ता गौतमले प्रतिक्रिया दिए ।
मुद्दामा अधिवक्ता गौतम बसन्त गौतम, सुनीलकुमार श्रेष्ठ, बिश्वजित तिवारी, बलबहादुर चन्द, सुरेशकुमार गौतमले पीडितको पक्षबाट बहस गरेका थिए । समय अभावका कारण बाँकेका दुई परमादेशको पालो आएन । अव चन्द्रकला उप्रेती र देवीसरा विकले दर्ता गराएका अरु दुई वटा बेपत्ता सम्बन्धी परमादेशको रिट अदालतमा विचाराधीन छ ।