नेपालगन्ज उपमहानगर पनि साक्षर नगर घोषणा

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।
बिहिबार आयोजित औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव र नगर प्रमुख डा. धवलशम्शेर राणाले नगरलाई साक्षर घोषणा गरेका हुन् । नगर प्रमुख राणाले लामो समयको प्रयासपछि नगरलाई साक्षर घोषणा गरिएको बताए । जिसस संयोजक श्रीवास्तवले ५ वर्षको प्रयत्न अन्तिम समयमा सफल भएको भन्दै नेपालगन्ज साक्षर घोषणा हुने सातौं स्थानीय तह भएको बताउनुभयो । नेपालगन्ज साक्षर भएपछि जिल्लाभरमै उत्साह छाएको उनको भनाइ थियो ।
नेपालगञ्न्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापाले २०७६ देखि सुरु भएको साक्षरता अभियान अहिले सफल भएको बताए । दुईवर्षअघि घरदैलोमार्फत संकलन गरिएको तथ्यांक अनुसार १५ देखि ६० वर्ष उमेर समूहका करिब २३ प्रतिशत निरक्षर रहेकोमा साक्षर अभियानपछि निरक्षरहरुको संख्या ५ प्रतिशत भन्दा कममा झरेको जानकारी दिए । कार्यक्रममा शिक्षा समन्वय इकाईका प्रमुख रामसुरेश यादव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी र नगर शिक्षक महासंघका अध्यक्ष मनोजराजा श्रीवास्तव लगायतले शुभकामना दिएका थिए ।