बाँके जिल्ला स्तरीय बाल क्लब गठन

नेपालगन्ज : बाँकेमा जिल्ला स्तरीय बाल क्लबको तदर्थ समिति गठन भएको छ । खजुरा गाउँपालिकामा शुक्रबार सम्पन्न बाल भेलाले बैजनाथ गाउँपालिकाका विवेक शर्माको अध्यक्षतामा १३ सदस्यीय जिल्ला स्तरीय बाल क्लब गठन गरेको हो । जिल्ला समन्वय समिति बाँकेमा जिल्ला बाल क्लब गठन सम्बन्धी स्पष्ट कानुनी आधार नभएकाले गठन भएको समितिलाई तदर्थ भनिएको छ ।
समितिको उपाध्यक्ष चन्द्रा शर्मा (नरैनापुर), सचिव रहिमत जहाँ खाँ (खजुरा), सहसचिव गणेश यादव (जानकी) र कोषाध्यक्ष अन्जना धिताल (खजुरा) सर्वसम्मत् चयन भएका छन् । त्यसैगरी स्नेह मगर (नेपालगन्ज), कविता अधिकारी (कोहलपुर), सन्तोष राना (जानकी), राहुल पासी (खजुरा), सफिक रहजान खाँ (डुडुवा), अभिषेक मिश्रा (नरैनापुर), श्रृष्टि शर्मा (राप्ती सोनारी) र झलक सुनार (बैजानाथ) सदस्य भएका छन् । खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले क्लबमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाइ तथा कार्यकाल सफलताको कामना गरेकी थिइन् । यसअघि जिल्लाका सबै स्थानीय तहमा पालिका स्तरीय र कतिपय वडामा वडा स्तरीय बाल क्लब गठन भइसकेका छन् ।