बर्दियामा सामान्य विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

गुलरिया : बर्दियामा सामान्य विवादका कारण धकेलाधकेल हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बुधबार घर नजिकै धकेलाधकेलका क्रममा ढुंङ्गामा पछारिएर घाइते भएका बढैयाताल गाउँपालिका–८, स्याउलीबजारका ४७ वर्षीय बलबहादुर कँडेलको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । घरको आँगनमा रहेको ढुङ्गामा टाउको ठोकिन गइ गम्भीर घाइते भएका उनलाई बर्दिया अस्पताल लगिएकोमा थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज (नर्सिङहोम)मा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय मीनबहादुर घर्तीलाई पक्राउ गरेको छ ।