बाँकेमा अपाङ्गता भएका मतदाता ३ प्रतिशत

नेपालगन्ज : बाँकेमा ३ प्रतिशत व्यक्ति अपाङ्गता भएका मतदाता छन् ।
अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक) नेपाल बाँकेका कार्यकारी निर्देशक देवीदत्त आचार्यका अनुसार जिल्लामा ३ लाख २९ हजार ४७३ मतदातामध्ये १० हजार मतदाता अपाङ्गता भएका व्यक्ति छन् । एक तिहाइ व्यक्ति शारिरीक अपाङ्गता भएका र झन्डै एक तिहाइको संख्यामा दृष्टिविहीन छन् । उनले भने, ‘ठूलो संख्यामा भए पनि स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गरिएको छ’, उनले भने, ‘दलहरुले उम्मेदवार बनाउन पनि कञ्जुस्याइ गरेका छन् । २ वडाध्यक्षसहित ७ जनालाई मात्र उम्मेदवार बनाइएको छ ।’
डेक नेपालले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी अपाङ्गता भएका माग सम्बोधन गर्न निर्वाचन आयोग लगायत सम्बद्ध सबैसँग अनु्रोध गरेको थियो । सो अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ, बास नेपाल, युथ होम, स्वतन्त्र पत्रकार संघ, राष्ट्रिय युवा महासंघ नेपाल, अधिकारकर्मी र प्राध्यापकलगायतले नागरिक समाजका तर्फबाट अपाङ्गता भएका व्यक्तिको माग सम्बोधन गर्न ध्यानाकर्षण गरेका थिए । मतदानस्थल अपाङ्गमैत्री हुनुपर्ने, भोट खसाल्ने व्यक्तिको व्यवस्था हुनुपर्ने, दोभासेको व्यवस्था हुनुपर्नेलगायतको माग गरिएको छ ।