गाउँपालिका अध्यक्षमा पौैडेल र उपाध्यक्षमा थारुले जितेको राप्तीसोनारीमा कांग्रेसको वडाध्यक्ष र सदस्य शून्य !

नेपालगन्ज : नेपाली कांग्रेसबाट बाँकेको राप्तीसोनारी गाउँपालिकोको अध्यक्ष तप्त पौडेल र उपाध्यक्ष मनिषासिंह थारु विजयी भएका छन् ।
राप्तीसोनारीका निर्वाचन अधिकृत टोपेन्द्रबहादुर केसीका अनुसार मंगलबार बिहान सम्पन्न मतगणनामा नेकपा माओवादी केन्द्रका पटटु थारुलाई ८२० मतान्तरले पराजित गर्दै पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १० हजार ११२ र थारुले ९ हजार २९२ मत ल्याएका छन् । एमालेका रामदास थारु ९ हजार १४० मत ल्याएर तेस्रो स्थानमा आए । उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारुले नेकपा एमालेकी चमेली बाकवललाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भइन् । थारुले १० हजार १३४ मत र बाकवलले ९ हजार ३४१ मत ल्याएका छन् । माओवादी केन्द्रकी मञ्जु रोकायले ८ हजार ७९३ मत ल्याइन् ।
गाउँपालिकाका ९ वडामा कुनै पनि वडाध्यक्ष र वडा सदस्यमा कांग्रेसले जित हासिल नगरेको निर्वाचन अधिकृत केसीले बताए । स्थानीय तह निर्वाचन २०७४ मा राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री निर्वाचित भएका थिए । वडा नं. १, ३, ४, ८ र ९ मा वडाध्यक्ष र सदस्यसहितको प्यानल नै कांग्रेसले जितेको थियो ।
राप्तीसोनारीमा अघिल्लो निर्वाचनमा एमालेले वडा नं. २ मात्र जितेको थियो । अहिले वडा नं. २ सँगै विगतमा कांग्रेसले जितेका थप ४ वटा वडा (१, ३, ८ र ९) गरी कूल ५ वटा वडामा लाल झण्डा फहराएर गाउँपालिकाको ठूलो दल भएको छ । पाँच पाँच वटा वडा जितेर पनि एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष भने गुमाएको छ ।
माओवादी भने अघिल्लो निर्वाचनमा पनि ३ वडा जितेको माओवादी केन्द्रले यो निर्वाचनमा वडाको संख्या ३ जोगाएको छ । विगतमा जितेको वडा नंं. ६ गुमाएको छ भने त्यसको बदलामा वडा नं. ४ मा जितेको छ । वडा नं. ५ र ७ मा पनि माओवादीले नै जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राप्तीसोनारीको वडा नं. ६ मा खाता खोलेको छ ।