नरैनापुर-४ मा १०४ वटा मतपत्रमा किन मतदान अधिकृतको हस्ताक्षर छुट्यो ?
नरैनापुर : बाँकेको नरैनापुर गाउँपालिकामा स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा १०४ वटा मतमा निर्वाचन अधिकृतको हस्ताक्षर बिना नै फेला परेको छ ।
निर्वाचन अधिकृत रेशम आचार्यका अनुसार नरैनापुर ४ को एक हजार ६२ मत गणना भइसकेपछि बुधबार निर्वाचन अधिकृतको हस्ताक्षर बिनाका मत फेला परेको हो । यस्तो मत फेला परेपछि नरैनापुरको मतगणना कार्य केही घण्टाका लागि रोकिएको थियो । निर्वाचन अधिकृत आचार्यले भने, ‘निर्वाचन आयोगलाई यसबारे जानकारी गराएका छौं । निर्णय नआउँदासम्म वडा नंं ४ को मतगणना कार्य स्थगित गरेका छौं ।’
स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिक २०७८ ले सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएकोे मत बदर हुने व्यवस्था गरेको छ । एकै पटक ठूलो संख्यामा मतदान अधिकृतको हस्ताक्षर बिनाका मतपत्र पाइएकाले दलहरु झस्केका छन् । निर्वाचन अधिकृत आचार्य पनि मतदान अधिकृतको गम्भीर लापरबाही भएको बताउँछन् ।
नरैनापुर गाउँपालिकाको वडा नं. ४ को नेराप्रावि जयरामपूर्वा मतदान केन्द्रमा हुलाकी सडक निर्देशनालय नेपालगन्जमा कार्यरत इन्जिनियर सुनिलकुमार गुप्ता मतदान अधिकृत थिए । कृष्णबहादुर विष्ट सहायक मतदान अधिकृत रहेका थिए । मतदान अधिकृतले हस्ताक्षर गर्ने र त्यो मतपत्र मतदातालाई सहायक मतदान अधिकृतले च्यातेर दिने व्यवस्था गरिएको थियो ।
नरैनापुरमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले वडा नं. ४ को मतगणना रोकेर अन्य वडाको मतगणना गर्ने सहमति गरिएको थियो ।