अग्नी पीडितलाई घर बनाउन एमालेको नगद सहयोग
नेपालगन्ज : नेकपा (एमाले)ले बाँकेको नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई घर बनाउन सहयोग गरेको छ ।
एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकालको नेतृृत्वको टोलीले बिहीबार नरैनापुर ४ कृष्णनगरका १६ घरका अग्नी पीडितलाई जनही ९३ हजार ७५० रुपैयाँका दरले १५ लाख रुपैयाँ वितरण गरेको हो । यसअघि घर बनाउने तीन बण्डल टिनको पाता सहयोग गरेको थियो । निर्वाचन आचार संहिताका कारण नगद वितरण गर्न नमिल्ने भएपछि मतदान सकिएपछि मात्र वितरण गरिएको नेता ढकालले बताए । उनले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालगन्जमा आएर अग्नी पीडितलाई सहयोग गर्ने घोषणा गर्नु भएको थियो । मतदानका बेलामा बाँड्दा निर्वाचन आचार संहिताले रोक्यो । तपाईहरुले निर्वाचनमा हामीलाई भोट नदिए पनि बाचा गरेको रकम आज बाँडिरहेका छौं ।’