हिन्दुले घर-घरमा रोपे तुलसीकोे बोट

नेपालगन्ज : हिन्दु धर्मालम्बीले आइतबार तुलसीको बोट रोपेका छन् ।
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोप्ने गरिन्छ । घर अगाडि तुलसीको मोठ बनाएर बिरुवा सार्ने गरिन्छ । आयुर्वेदका अनुसार तुलसीको बोटबाट बढी अक्सिजन पाइन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतिकका रूपमा मानिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा.रामचन्द्र गौतमका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।