बाल सुधार गृहका बालकले भने, ‘५ दिनको योग शिविरले धेरै खुसी दियो’

नेपालगन्ज : टेण्टको हल खचाखच भरिएको थियो । कोर्ष गरिरहेका ६८ जना र बाँकी अरु गरी १८१ बालक धैर्य भएर सुनिरहेका थिए । कार्यक्रम सञ्चालन पनि बाल सुधार गृहकै एक बालकले गरिरहेका थिए । मञ्चमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश षडानन्द तिवारी, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेलगायत थिए । बाँकेको जयेन्दु बाल सुधार गृहमा पाँच दिने नव चेतना शिविर समापनबारे मंगलबार अनुभव सुनाउन एक बालक मञ्चमा पुगे । ‘हामी धेरै तनावमा हुन्थ्यौं । दिन निराश भएर बित्थ्यो । टाइम पास गर्न पनि गाह्रो थियो’, उनले निर्धक्क बोले, ‘पाँच दिनको शिविरले पनि बहुत धेरै खुसी दियो । बिजि बनाइदिनुभयो । तनाव हटाइदिनुभयो ।’ उनले सुधार गृहमा योग ध्यान जस्ता नयँ नयाँ कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न माग गरे ।
अर्का सहभागीले बाल सुधार गृहमा बस्दा मरभूमि जस्तो भएको जीवनमा योग ध्यानले हरियाली ल्याइदिएको भन्दै खुसी साँटे । उनले भने, ‘विगत सम्झ्यो पश्यतापले लखेटछ । भविष्यको डर र चिन्ताले सताउँछ । वर्तमानमा बाँच्दा मात्रै खुसी हुने रहेछौं भन्ने कुरा यो पाँच दिनमा सिक्यौं । दुई दिने जिन्दगीमा अब हाँसेर मात्र बाँच्नेछौं ।’ उनले न्यायाधीश तिवारीसँग बालबालिकाको मुद्दाको न्याय प्रणालीमा ढिलासुस्ती भइरहेको गुनासो पनि गर्न भ्याए । ‘हामीले अरुमा बदलाव मात्र खोज्यौं । जेल परेपछि हामी हामी बदलिनुपर्छ’, दुई बालकको जोडदार मन्तव्यपछि सञ्चालकले थपे, ‘म पनि बदलिन्छु । तपाई पनि बदलिनुस् ।’ उनले सहभागीसँग प्रश्न सोधे बदलिनु हुन्छ ? एकै स्वरमा सबैले बदलिन्छौ भने । यी भनाइले अतिथि दीर्घामा उत्साहको सञ्चार थपिदियो । प्रमुख अतिथि जिल्ला न्यायाधीश तिवारी र प्रमुख जिल्ला अधिकारी खत्रीलगायत सबै वक्ताले उत्प्रेरक भाषण गरे ।
द आर्ट अफ लिभिङ नेपालगन्जले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोगमा सञ्चानल गरेको पाँच दिने शिविरका प्रमुख वक्ता तिवारीले भने, ‘सकारात्मक सोच र सकारात्मक कर्म हुने हो भने कहिल्यै पनि तनावमा हुनु पर्दैन ।’ उनले थपे, ‘सुधार गृहमा बस्दा केही स्वतन्त्रताहरु मात्र खुम्चिए पनि अरु कुराहरु नरोकिएकाले राम्रो काम गरेर समाजमा पुनस्र्थापित हुनुहोस् ।’

प्रमुख जिल्ला अधिकारी खत्रीले बाल सुधार गृहका बालकलाई भविष्यमा सक्षम, योग्य र असल बनेर घर, परिवार र समाजमा उदाहरणीय बन्न आग्रह गरे ।
जयेन्दु बाल सुधार गृहलाई साढे ४ बिगाह जग्गा दान दिने जयकिशन सिंहले ‘हम बदलेंगे, सब सुध्रेगा’ भन्दै भाषणको सुरुवात गर्दै जीवनमा मातृ÷पितृ ऋण, गुरु ऋण र राष्ट्र ऋण कहिल्यै तिरेर नसकिने बताए । उनले प्रमुख जिल्ला अधिकारी खत्रीलाई सुधार गृहमा नियमित स्वास्थ्य जाँच, मल्टि टे«निङ सेन्टरको हल, भेरी प्राविधिक शिक्षालयसँगको सहकार्यमा साप्ताहिक रुपमा सीपमूलक तालिम, विद्यालयका लागि स्वयंसेवक शिक्षकको व्यवस्थाका लागि पहल गर्न माग गरेका थिए ।

कार्यक्रममा बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुधन न्यौपाने, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डे, द आर्ट अफ लिभिङ नेपालगन्जका संयोजक संजय थापा, अधिवक्ता वसन्त गौतम, हरित अभियन्ता हेमन्त कर्माचार्य, सुधार गृहका इन्चार्ज विमला काउचा मगर, शिविरका सहजकर्ता शंकरप्रसाद खनाललगायतले योग ध्यान र यसको फाइदाका विषयमा धारणा राखेका थिए ।

शिविरमा द आर्ट अफ लिभिङका स्वयंसेवकद्वय शंकरप्रसाद खनाल र सुधीर गौतमले सहजीकरण गरेको शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन गरिएको सहजकर्ता गौतमले जानकारी दिए । २४–२८ असारसम्म सञ्चालन गरिएको शिविरमा १२–१८ वर्ष उमेर समूहका ६८ जना बालकहरु सहभागी भएका थिए ।