डुडुवा गाउँपालिकाको १२औं गाउँसभा स्थगित
रमेशकुमार यादव । साहपूर्वा
बाँकेको डुडुवा गाउँपालिकाले १२औं गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको छैन । गाउँपालिका अध्यक्ष नरेन्द्र्रकुमार चौधरीले दलहरुबीच सहमति बिना नै गाउँसभा डाकेपछि आइतबारको १२औं गाउँसभामा नेकपा एमाले र जनता समाजवादी पार्टीका २६ जना सभा सदस्यले बैठक बहिस्कार गरेपछि गणपूरक संख्या नपुगेर गाउँसभा स्थगित भएको हो । अध्यक्ष चौधरीले भने गाउँसभा असारमा हुनुपर्ने नत्र बजेट घटेर आउने भएकाले सभा सञ्चालन हुनुपर्ने बताउँदै आएका छन् तर उनी अघिल्लो कार्यकाल जस्तै वडालाई बजेटको सिलिंग नदिएरै आफूखुी गर्न खोजिरहेको प्रतिपक्षी दलका वडाध्यक्षहरुले बताएका छन् ।
वडा न २ का वडा अध्यक्ष दुर्गाप्रसाद वर्माले भने, ‘अध्यक्ष चौधरीको तनासाह प्रवृत्तिका कारण सहमति हुन नसकेको बताए । उनले भने, उहाँले पटक पटक बैठक बोलाउनु हुन्छ । बुँदागत रुपमा छलफल गर्न चाहनुहुन्न । कसरी सहमति हुन्छ ?’ अध्यक्ष चौधरीसँग गाउपालिकाबाट वडा स्तरीय बजेटको सिलिंग माग गर्दा अहिलेसम्म नदिएको कारण गाउँसभाका लागि सहमति नजुटेको वडाध्यक्ष वर्माले दुःखेसो पोखे ।
वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र शनिबार नेपालगन्जको होटेल कल्पतरुमा बिहान ८ बजे बोलाएको बैठकमा अध्यक्ष चौधरी आफैै अनुपस्थित रहेकाले गाउँसभा डाक्ने विषयमा कुनै सहमति नभएको बताउँछन् । उनले प्रष्ट पारे, ‘अध्यक्ष चौधरी आफै १२ बजेसम्म नआएपछि बैठक स्थगित भएको हो । गाउँसभामा कस्तो अर्थिक योजना ल्याउने भन्ने सम्बन्धमा म जानकारीविहीन छु । यस्तो अवस्थामा कसरी गाउँसभामा सहभागी हुन सकिन्छ ।’