परिवारबाटै सहिदको स्मृतिकरण
शंकरप्रसाद खनाल । हब्रहवा
बाँकेको राप्तीसोनारी गाउँपालिका–६ हब्रहवा गाउँको भर्खरै बनेको दुई तले घरको बार्दली बाहिर दुई वटा फोटो राखिएको छ । उस्तै फोटो बार्दलीको भित्रपट्टि पनि छ । उत्तर मोहोडाको बार्दली बाहिर सिमेन्टका अक्षरले लेखिएको छ, ‘सहिद ओमकुमार थारु र सहिद भरत कु. थारु ।’ तल्लो तलमा सात वटा कोठा छन् । घरको पूर्व र उत्तरमा बरण्डा छ । पूर्वीतिर दुई वटा सटर पनि छन् । आलिसान लाग्ने भवन झट्ट हेर्दा कुनै सहिद प्रतिष्ठानको कार्यालय हो कि जस्तो भान हुन्छ । तर, यो घर सहिद परिवारको हो । यो घरका सहोदर दाजुबहिनी जनयुद्धमाा सहिद भएका छन् । छोराछोरीको सम्झनामा बाबु श्री थारुले सहिदकै नाम र फोटो राखेर घर बनाएका हुन् । ‘छोराछोरी दुबै जनयुद्धमा सहिद भए । राज्यले २० लाख रुपैयाँ राहात दियो । उनीहरुकै नाम र फोटो राखेर घर बनाएको हुँ’, उनले चित्त बुझाए, ‘समाज बदल्छु भनेर गएका थिए । फर्केर आएनन् । चिनोको रुपमा अब यही फोटो र घर मात्र बाँकी छ ।’
माओवादी जनयुद्धका क्रममा १ फागुन २०५८ मा उनले ४ भाइ छोरामध्ये कान्छा ओमकुमार ‘श्रीकान्त’ लाई गुमाए । राप्तीसोनारी गाउँपालिका–६ जरैयामा जनयुद्ध दिवस मनााउन गेट बनाउँदै गर्दा सेन्ट्रीमा बसेका ओमकुमारलाई सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो । ६ कक्षा पढेर माओवादीमा लागेका उनको एक वर्ष मात्र भएको थियो । ‘दाइको हत्याको बदला लिन्छु’ भनेर उनकी एक मात्र छोरी भरतकुमारी ‘तारा’ पनि २९ भदौ ०५८ मा माओवादी जनयुद्धमा होमिइन् । जनमुक्ति सेनाको सेक्सन सह–कमाण्डर रहेकी चौधरीले २५ फागुन ०६२ मा रुकुमको खारा बेसक्याम्पस आक्रमणका क्रममा ज्यान गुमाइन् । ‘परिवर्तनका लागि जनयुद्धमा जान्छु भनेपछि मैले नाइ भन्न सकेन’, बाबु श्रीले भने, ‘जमिन्दारबाट गरीबलाई हेला हुन्थ्यो । न्याय दिलाउँछौं भनेर लागे । गाउँबाट शोषक सामन्त लखेटिए पनि । उनीहरुले रोजेको बाटोमा मेरो साथ र सहयोग थियो ।’ सहिदको बलिदानीबाट देशमा संविधासभा, गणतन्त्र, समावेशीता आएको उनले बुझेका छन् । उनी थोरै निराशा छन्, ‘सोचे जत्तिको त उपलब्धी भएनन् कि ? अझै सम्भव छ भनेर माओवादीको साथ छोडेका छैनौं ।’
राप्तीसोनारी–६ हब्रहवाको बाँके सहिद स्मृति पार्क संरक्षण केन्द्रको परिसरमा एउटा शालिक छ । जनमुक्ति सेनाका सेक्सन कमाण्डर बुद्धिबल पुन मगरको अर्धकदको मुठ्ठी कसेर अभिभादन गर्र्दै गरेको शालिक आमा पास्सी पुन मगरले निर्माण गरेकी हुन् । एक मात्र छोरो बुद्धिबलको २७ कार्तिक ०६१ मा सुर्खेतको बोटेचौरमा नेपाली सेनासँग भिडन्तमा निधन भयो । आमा पास्सीले छोराको शालिक ठड्याइन् । ‘एक लाख रुपैयाँ त मूर्तिमै लाग्यो । फलामे ढोका, टिनको छानो र पर्खाल लगाउँदा सबै गरी तीन लाख रुपैयाँ भन्दा बढी खर्च भयो’, उनले दुःख पोखिन्, ‘६÷७ वटा सन्तान जन्माएकी थिए । कोही एक वर्ष त कोही दुई वर्षमै मरे । एक छोरा र एक छोरी मात्र बचेका थिए । त्यो छोरो पनि सहिद भयो । माया लाग्दा शालिक हेर्छु । चित्त बुझाएर जान्छु ।’ उनका बुढाबुढी अहिले छोरीज्वाइको साहारामा छन् । ज्वाइ नरबहादुर पुन पनि स्वेच्छिक अवकाश लिएका पूर्व जनमुक्ति सेना नै हुन् ।
सहिद परिवारका सदस्य तथा माओवादीका राप्तीसोनारी गाउँपालिका कमिटीका सचिव सूर्यप्रकाश घर्ती मगर संक्रमणकालीन न्यायका लागि राज्यले घटनाबारे सत्यतथ्य जानकारी दिने, मेलमिलाप गराउने वा क्षमादान दिने, पीडित परिवारलाई परिपूरण, गम्भीर मानव अधिकार उल्लंघनमा अनुसन्धान गरेर मुद्दा चलाउनु पर्ने र शहीद, बेपत्ता तथा पीडित व्यक्तिको नाममा स्मृृतिकरण गर्नुपर्ने बताउँछन् । द्वन्द्व पीडितको घाउमा मल्हम लगाउनुपर्र्ने राज्यले बाँकेमा सहिद वा बेपत्ताका नाममा स्मृतिकरण गर्न कुनै काम नगरेको उनको गुनासो छ । राज्यले नगरेपछि सहिद परिवारले आफ्नै लगानीमा स्मृतिकरण गरेका छन् । राज्यको तर्फबाट सहिद र बेपत्ता परिवारलाई जनही १० लाख रुपैयाँ राहात दिने बाहेक अरु कुनै काम भएका छैनन् ।
माओवादीले बाँकेको कोहलपुरमा सहिद प्रतिष्ठान नेपालको भवन बनाएको छ । बाँके सहिद स्मृति पार्क संरक्षण केन्द्रले राप्तीसोनारी–६ मा हुलाकी राजमार्गको पूर्वी किनारमा बाँके जिल्लाका सहिद तथा बेपत्ता परिवारको स्मारक बनाएको छ । जसमा जिल्लामा सहिद भएका र बेपत्ता भएकाहरुको नाम, ठेगाना र सहिद भएको मिति पनि लेखिएको छ । माओवादीबाट बाँके क्षेत्र नं. १ बाट निर्वाचित सांसद तिलक परियारले निर्वाचन क्षेत्र विकास कोषबाट स्मारक निर्माण गरेका हुन् । हुलाकी राजमार्गकोे पश्चिमतिर केन्द्रको आफ्नैै सभा हल पनि हब्रहवामै छ । जसमा राप्तीसोनारी गाउँपालिकाले पनि आर्थिक सहयोग गरेको छ । राप्तीसोनारी गाउँपालिका–२ कचनापुरमा पनि संविधानसभा सदस्य अशोक रोकायले निर्वाचन क्षेत्र विकास कोषबाट सहिद स्तम्भ बनाएका छन् ।
स्थानीय शान्ति समितिले २०७३ सालसम्म बाँके जिल्लामा सशस्त्र सशस्त्र द्वन्द्वमा २४४ जना सहिद र ६९ जना बेपत्ता भएको सूची तयार गरेको समितिका तत्कालीन सचिव पिताम्बर आचार्यले बताए । माओवादी निकट सहिद प्र्रतिष्ठान नेपाल कोहलपुर शाखा कार्यालयले बाँके जिल्लाका सहिद तथा बेपत्ताहरुको संक्षिप्त जीवनी सम्बन्धी प्रकाशित गरेको पुस्तक बलिदानमा सुरक्षाकर्मीबाट बाँकेमा १०१ जना शहीद (९६ जनाको जीवनी प्रकाशित) र १५४ जना बेपत्ता भएको उल्लेख गरेको छ । जसमा राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका ४९ जना सहिद र १५ जना बेपत्ताको नाम उल्लेख छ । बाँके सहिद स्मृति पार्क संरक्षण केन्द्रका अध्यक्ष नरबहादुर पुनले राप्तीसोनारी गाउँपालिकामा मात्र सहिद र बेपत्ताको संख्या ६७ भएको बताए । जुन जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा धेरै हो । राप्तीसोनारीको वडा नं. ६ मा मात्रै ११ जना सहिद र २ जना बेपत्ता भएको उनले बताए ।
जनयुद्धको बेला नेकपा माओवादीले बाँकेको राप्ती पारीको दुर्गम फत्तेपुर, बैजापुर, बिनौनालगायतका गाविसहरुमा जिल्ला जनसरकार गठन गरेर नयाँ सत्ताको अभ्यास गरेको थियो । माओवादीका नाममा होस् वा माओवादीलाई सघाएको भन्दै सुरक्षा फौजले गस्तीका क्रममा धेरै जनालाई सहिद तथा बेपत्ता पारेको उनी बताउँछन् । यहाँका सहिद र बेपत्ता परिवारले राज्यबाट १० लाख रुपैयाँ राहात वापत पाएका छन् । राप्तीसोनारी–४ का विष्णु थारुको परिवार बञ्चित छ ।
गत १७ भदौमा सुख्खाग्रस्त क्षेत्र नरैनापुरको स्थलगत अवलोकन गर्न गएका संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले सहिद तथा बेपत्ता परिवारसँग हब्रहवा गाउँमा भेट गराएकी थिइन् । अर्थमन्त्री शर्मासँग पीडित परिवारले शान्ति प्रक्रिया पूरा गर्न, द्वन्द्व पीडितलाई संक्रमणकालीन न्याय दिन र राहातको व्यवस्था गर्न माग गरेका थिए । अर्थमन्त्रीले जनयुद्धका शहीद, बेपत्ता, अपाङ्ग, घाइते सबैको उचित व्यवस्थापनका लागि कानुन संशोधन गरेर संक्रमणकालीन न्यायका बाँकी कामहरु पूरा गर्न सरकारले पहल गरिरहेको बताएका थिए ।