बाँके निकुञ्जमा बाघ कम बृद्धि हुने १० कारण

बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्न सरकारले स्थापना गरेको देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमै सबैभन्दा कम बाघ बृद्धि भएर चिन्ता
गणनाका बेलामा भेटिएका बाँके राष्ट्रिय निकुञ्जका बाघहरु । फोटो सौजन्य : बाँके राष्ट्रिय निकुञ्ज

शंकरप्रसाद खनाल । नेपालगन्ज
राष्ट्रिय बाघ गणना–२०२२ मा देशभर ५१ प्रतिशतले पाटेबाघको संख्यामा बृद्धि भयो । चार वर्षमा देशभर १२० बाघ बढ्दा त्यसमा बाँके राष्ट्रिय निकुञ्जको योगदान ४ वटा मात्र भयो । नेपाल सरकारले १० वर्षमा दोब्बर बाघ बृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २८ आषाढ २०६७ मा स्थापना गरिएको देशको दशौं निकुञ्ज बाँकेमा यो गणनामा १९ प्रतिशत मात्र बाघ बृद्धि भयो । सन् २०१३ मा ४ वटा बाघ रहेकोमा २०१८ मा १७ वटा बाघ बृद्धि भएर २१ पुगेको थियो । अघिल्लो गणनामा देशमा सबैभन्दा बढी बाघ हुने निकुञ्जको तेस्रो स्थानमा रहेको बाँके अहिले बाघ पाउने निकुञ्जको सबैभन्दा पुछारमा पुगेको छ । १० वर्षभित्र ३५० बाघ बृद्धि गर्ने सरकारको लक्ष्य सन् २०२२ को गणनाले बाँके निकुञ्जका कूल २५ बाघ जोडेर देशभर ३५५ संख्याले पूरा भयो । बाघ पाइने १३ देशमध्ये नेपालले मात्र आफ्नो लक्ष्य र प्रतिबद्धता पूरा गरेको छ ।
बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा अघिल्लो गणनाभन्दा निकै कम बाघ बृद्धि भएर बाँकेका संरक्षणकर्मी र सरोकारवालालाई चिन्तित बनाएको छ । अन्नपूर्ण पोस्ट्ले निकुञ्जका अधिकारी र संरक्षणकर्मीसँग गरेको कुराकानी, सन् २०१३, २०१८ र २०२२ को बाघ गणनाको विस्तृत रिपोर्टलाई विश्लेषण गर्दा बाँकेमा १० कारणले बाघको न्यून बृद्धि भएको देखिन्छ ।

पहिलो : आहार प्रजाति पर्याप्त नहुनु
राष्ट्रिय बाघ गणना रिपोर्ट २०२२ अनुसार बाँके निकुञ्जमा देशका अन्य निकुञ्जभन्दा सबैभन्दा कम बाघको आहारा जन्य प्रजाति पाइएको छ । बाँके निकुञ्जमा प्रति वर्गकिलोमिटरमा ३२.६ वटा मात्र आहारा जन्य प्रजाति छ । निकुञ्जमा चौका, चित्तल, बँदेल, जरायो, नीलगाई, खरायोलगायतका बाघका ८ प्रकारका आहारा प्रजाति छन् । सन् २०१८ को गणनाको तुलनामा आहाराजन्य प्रजातिमा तेब्बरभन्दा बढी सुधार भएको देखिन्छ । चार वर्ष अघि प्रति वर्गकिलोमिटरमा ८.१ वटा मात्र आहारा जन्य प्रजाति पाइएको थियो । त्यसअघि सन् २०१३ को रिपोर्टमा आहारा प्रजाति प्रति वर्गकिलोमिटरमा १०.२७ वटा थियो ।

आहारा जन्य प्रजाति देशकै सबै निकुञ्जभन्दा बाँकेमा कम हो । सन् २०२२ को रिपोर्ट अनुसार सबैभन्दा बढी आहाराजन्य प्रजाति शुक्लाफाँटामा प्रति वर्गकिलोमिटरमा १४६.२ वटा पाइएको छ । दोस्रो चितवनमा प्रति वर्गकिलोमिटरमा ९९.७, बर्दियामा ९०.२, पर्सामा प्रति वर्गकिलोमिटरमा ३२.२ आहाराजन्य प्रजाति पाइएका छन् । आहाराजन्य प्रजाति पर्याप्त नहुनु पनि बाघ बृद्धि कम हुने प्रमुख कारणमध्ये एक हो । आहाराको अभावमा बाँके निकुञ्जको बाघ मध्यवर्ती क्षेत्र र कम्दी जैविक मार्ग क्षेत्रका सामुदायिक वनमा जाने गरेको पाइएको छ । सजिलो शिकारको रुपमा मान्छे र घरपालुवा जनावरमा बाघ पल्केको कारण पनि यही हो । यो गणनाले पनि कम्दी जैविक मार्गमा ७ र दाङको जंगलमा १ वटा गरी ८ वटा बाघ त निकुञ्जभन्दा बाहिर पाइएको छ । जुन बाँकेका कूल बाघको ३२ प्रतिशत बाघ निकुञ्जभन्दा बाहिर नै छ । आहारा प्रजातिको खोजीमा बाघ निकुञ्ज बाहिर गइरहेको छ ।

दोस्रो : बाँके बर्दिया कम्प्लेक्स
बाघ गणनामा बाँके र बर्दिया निकुञ्जलाई एउटै कम्प्लेक्समा राखेर सर्भेक्षण गरिएको थियो । यद्यपि भौगोगिक हिसाबले बाँके र बर्दिया निकुञ्ज फरक हुन् तर एकापसमा जोडिएका छन् । बैजनाथ गाउँपालिकामा पर्ने चिसापानी हात्तीसारदेखि पश्चिम–उत्तरमा बर्दिया र पूर्व–उत्तरमा बाँके पर्छ । निकुञ्ज जोडिएकाले बाँकेका बाघको बर्दियामा ओहोरदोहोर चलिरहन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरिया बाघ गणनाका क्रममा बाँकेका केही बाघको बर्दियामा पनि गणना भएको आशंका गर्छन् । बाघ गणनाको प्राविधिक टोलीका सदस्य कडरियाले भने, ‘केही बाघ बाँके र बर्दिया दुबैतिर पाइएको छ । सानो संख्याले पनि गणनालाई तलमाथि बनाउन सक्छ ।’ बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाह पनि बाँकेका केही बाघको बर्दियामा गणना भएको बताउँछन् । ‘बाँके–बर्दिया कम्प्लेक्स हो । जता गणना गर्दा पनि एउटै हो’, उनले भने । दुबैतिर गणनामा परेका केही बाँकेका बाघ बर्दियामा गणना हुँदा बाँके निकुञ्जको गणनामा कम वृद्धि देखिन्छ । कडरियाले भने, ‘हामीले अपेक्षा गरेको २५ देखि ३० अपेक्षा गरेका थियौं । त्यही हाराहारीमा नतिजा आएको छ । यो स्वभाविक नै हो ।’

तेस्रो : चुरे पहाड
बाँके निकुञ्जमा ठूलो हिस्सा चुरे पहाड रहेको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति बाँकेका अध्यक्ष गेहेन्द्रकुमार खड्काका अनुसार निकुञ्जको ६२ प्रतिशत भू–भागमा त चुरे नै छ । निकुञ्जको ३८ प्रतिशत भू–भाग मात्र समथर छ । ‘चुरेमा पानी र आहारा प्रजाति नपाइने भएकाले बाघ त्यहाँ बस्ने वातावरण नै छैन’, अध्यक्ष खड्काले भने, ‘यस पटकको गणनामा चुरेमा पनि केही बाघ भेटिएको छ भन्ने सुनेको छु तर चुरे बाघका लागि उपयुक्त वासस्थान भने होइन ।’ राजमार्गदेखि कम्तीमा डेढ किलोमिटरदेखि बढीमा तीन किलोमिटरको दूरीमा चुरे पहाड आउँछ । समथर मैदान भए पनि त्यो राजमार्ग र मध्यवर्ती क्षेत्रसँगै जोडिएकाले मानवीय गतिविधि र गाडीको चहलपहल पनि वन्यजन्तुका लागि उपयुक्त वासस्थान हुन सकेको छैन ।

बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि जडान गरिएको क्यामेरा 

चौथो : घाँसे मैदान
निकुञ्जको ३८ प्रतिशत समथर मैदानमा पनि पर्याप्त मात्रामा घाँसे मैदान छैनन् । ठूल्ठूला साल, साजलगायतका रुखहरु छन् । घाँसे मैदानको अभावमा बाघको आहाराजन्य प्रजाति मृग लगायत फस्टाउन सकेका छैनन् । निकुञ्ज कार्यालयले कृत्रिम रुपमा चार सय हेक्टर घाँसे मैदान विस्तार गरेको जनाएको छ । जसका कारण अघिल्लो गणनाभन्दा आहाराजन्य प्रजाति तेब्बर रुपमा बृद्धि त भयो तर यो आहारा अझै पनि बाघका लागि पर्याप्त हुन सकेको देखिँदैन । त्यसैले बाघ बृद्धिका लागि आहाराजन्य प्रजातिको बृद्धि गर्ने कार्यक्रमलाई अझ बढावा दिनुपर्छ ।

पाँचौं : पानीको अभाव
बाँके निकुञ्जको उत्तरमा बबई नदी र दक्षिणमा राप्ती नदी छ तर यी दुबै नदी निकुञ्जभन्दा बाहिर मध्यवर्ती क्षेत्रमा सीमाना नदी जस्ता छन् । यी नदीको पानी निकुञ्जका वन्यजन्तुलाई काम लाग्दैन । निकुञ्जभित्र मुगुवा, परुवा, खैरी, लुङ्ग्रीलगायतका ४५ वटा खहरे खोला छन् । ‘जहाँ वर्षा आउँदा भेल बग्छ । वर्षा रोकियो भने पानी सुक्छ’, बाँके निकुञ्ज प्रमुख शाहले प्रष्ट पारे । निकुञ्जमा पर्याप्त पानीका स्रोत छैनन् । निकुञ्जभित्र पानीको व्यवस्थापन गर्न पछिल्लो समय कृत्रिम पोखरी खन्ने काम भइरहेको छ । निकुञ्ज कार्यालयका अनुसार अहिलेसम्म ८० वटा कृत्रिम पोखरी खनिएको छ । निकुञ्जभित्र ७ वटा डिप बोरिङ पनि गाडिएको छ तर पनि पानीको पर्याप्त स्रोत पुगेको छैन । सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहर पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रमै परे पनि वन्यजन्तुलाई सजिलै पानी पिउन मिल्ने संरचना नहुँदा दुर्घटनाको शिकार हुने गरेका छन् । घोषणा गर्दा राप्ती र बबई नदीसम्मै निकुञ्जको विस्तार गरेको भए पानीको समस्या हल हुने थियो । पानीको अभावमा पनि बाघको आहाराजन्य प्रजाति र बाघ बृद्धिमा समस्या छ ।

छैठौं : पूर्वपश्चिम र रत्न राजमार्ग
निकुञ्जभित्र पूर्व–पश्चिम र रत्नराजमार्ग पर्छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि निकै व्यस्त पूर्व–पश्चिम राजमार्ग नै ५७ किलोमिटर क्षेत्रमा पर्छ । कर्णाली प्रदेश जाने रत्नराजमार्गको १९ किलोमिटर क्षेत्रफल पनि निकुञ्ज क्षेत्रमै पर्छ । गाडीको कोलाहल र हो–हल्ला बाघ र बाघका आहाराजन्य प्रजातिका लागि शान्त वातावरण होइन । निकुञ्जको संरचना वन्यजन्तुमैत्री नहुँदा हरेक वर्ष दर्जनौं वन्यजन्तु दुर्घटनाको शिकार हुन्छन् । बाँके निकुञ्जमा गत आर्थिक वर्षमा मात्र ५१ वन्यजन्तुको मृत्यु भएकोमा सवारी दुर्घटनामा परी तीन वटा चरिबाघ, १० बाँदर, सात बँदेल, चार रतुवा गरी ४० वन्यजन्तुको मृत्यु भएको छ । मानव वस्ती र निकुञ्ज जोडिएकाले टाइम कार्ड लागू नहुँदा गाडी तीब्र गतिमा हुँइकिने गरेका छन् ।

सातौं : मध्यवर्ती क्षेत्र र मानव वस्ती
निकुञ्जमा चुरेपछिको समथर भू–भागभन्दा ठूलो क्षेत्रफल मध्यवर्ती क्षेत्र छ । बाँके, दाङ र सल्यानमा गरी ३४३ वर्गकिलोमिटरमा मध्यवर्ती क्षेत्र फैलिएको छ । त्यहाँ हुने मानवीय गतिविधि पनि बाघ र अन्य वन्यजन्तुका लागि बाधक बनेको छ । त्यसो त निकुञ्जसँगै जोडिएको मानव वस्ती पनि छ । बाँकेको राप्तीसोनारी–१ का गाभर, बाघखोर र चप्परगौडी, दाङको बबई गाउँपालिका–७ कोट र सल्यानको कालीमाटी गाउँपालिका–७ आम्बासाको बस्ती निकुञ्जसँगै जोडिएको छ । यी बस्ती पनि वन्यजन्तु र बाघका लागि बाधक बनेका छन् । २८ भदौ २०७८ मा बाँकेको गाभरमा बाघको आक्रमणबाट एक जना भारतीय नागरिकको ज्यान गएको थियो ।

आठौं : भारतीय निकुञ्जसँग कनेक्टिभीटी
बाँके निकुञ्ज र कम्दी जैविक मार्गको सिधा कनेक्टीभिटी भारतीय राष्ट्रिय निकुञ्जसँग पनि रहेको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लामा पर्ने सुहेलुवा राष्ट्रिय निकुञ्ज बाँके निकुञ्जसँग कनेक्टिभीमा छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति बाँकेका अध्यक्ष खड्का बाघको दुबै देशका नकिुञ्जमा ओहोरदोहोर चलिरहन्छ । ‘यहाँ आहारा प्रजाति कम भएको बेलामा बाघ भारतमा जाने र भारतमा कम भएको बेला नेपाल आउने हुन्छ । कतै हाम्रो गणनाको बेलामा बाघहरु भारत गएका पनि हुनसक्छन्’, उनले आशंका गरे । यही कनेक्टिभीटिका कारण निकुञ्जभन्दा बाहिर कम्दी जैविक मार्गमा पर्ने राप्तीसोनारी गाउँपालिकामा ३ जना र नरैनापुर गाउँपालिकामा एक जनाको बाघको आक्रमणबाट ज्यान गइसकेको छ ।

नवौं : निकुञ्जको गलत नक्साङ्कन
बाघ संरक्षण गर्ने उद्देश्यले बाँके निकुञ्जको स्थापना त भयो तर यसको नक्साङ्कन नै वैज्ञानिक नभएको संरक्षणकर्मीहरु बताउँछन् । निकुञ्जको बीच भागमा राजमार्ग उत्तरमा चुरे र दक्षिणमा मानव वस्ती छ । राप्ती नदीलाई आधार बनाएर निकुञ्ज विस्तार गरेको भए वन्यजन्तुको लागि पर्याप्त पानीको व्यवस्था हुनसक्थ्यो, फ्रेण्ड फर वाइल्ड लाइफ कन्जरभेसन ग्रुपका अभियन्ता आशिष चौधरी भन्छन्, ‘निकुञ्जभित्र सधै पानीको अभाव हुन्छ । बाह्रै महिना पानी बग्ने राप्ती नदी निकुञ्जभन्दा बाहिर पारिएको छ । पानी खान जाने वन्यजन्तुको खतरामा परेका छन् ।’

दशौं : बासस्थान सुधार
निकुञ्जमा बाघको लागि बासस्थान सुधारको खाँचो टड्कारो देखिएको छ । ‘पहिलो गणनामा जुन हिसाबले संख्या बढेको थियो । त्यो अनुपातमा बृद्धि हुन सकेन’, निकुञ्जका वार्डेन शाह भन्छन्, ‘बासस्थान सुधारका कामहरु धेरै गर्नुपर्ने रहेको छ । भूगोल समस्याको रुपमा छ । घाँसे मैदान र पानीको व्यवस्थापन धेरै गर्नुपर्ने देखिन्छ । पहिलेको तुलनामा न्यून बृद्धि भएको हो । समग्रमा बृद्धि भएकै मान्नुपर्छ । राम्रो छ ।’ स्रोत : अन्नपूर्ण पोस्ट् दैनिक