नेपालगन्जको राप्ती खानेपानी आयोजना निर्माणमा ढिलाइ

राप्ती नदीबाट दैनिक अढाइ करोड लिटर पानी ल्याएर वितरण गर्ने योजना लक्ष्य अनुसार पूरा भएन
आयोजना अन्तरगत राप्ती नदीमा निर्माण भएको सम्वेल

लक्ष्मण ढुंगाना । नेपालगन्ज
नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको समस्या दिगो रुपमा समाधान गर्न भन्दै ५ वर्षदेखि राप्ती खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ । राप्ती नदीबाट प्रतिदिन २ करोड ५० लाख लिटर पानी नेपालगन्ज सहरमा ल्याएर खानेपानी समस्या समाधान गर्ने योजना अघि बढाइए पनि आयोजना निर्माण कार्यमा ढिलाइ भएको छ । २ वर्षभित्र सम्पन्न हुने गरी आर्थिक वर्ष २०७३ ०७४ सालदेखि सुरु भएको आयोजना पाइप खरिदमा अनियमितता भएको भन्दै अख्तियारले छानबिन थालेपछि २ वर्ष ढिला भएको थियो । त्यसयता छानबिन सकिए पनि निर्माणस्थलमा पर्ने जग्गाका साथै अन्य विभिन्न विवादका कारण हालसम्म पनि आयोजनाले गति लिन नसकेको नेपाल खानेपानी संस्थान नेपालगन्जले जनाएको छ । ‘२ वर्षसम्म अख्तियारको छानबिनका कारण ढिलाइ भयो’ कार्यालय प्रमुख हरिप्रसाद श्रेष्ठले भने ‘काम सुरु भएपछि जग्गा सम्बन्धी विवादका कारण अदालती प्रक्रियाले निर्माणले गति लिन सकेन ।’ विवाद सुल्झिएर कामले तिव्रता पाउने बेला नेपालगन्ज उपमहानगरपालिकाले पाइप लाइन बिस्तारका लागि सडक खन्न नदिँदा निर्माणमा ढिलाइ भइरहेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
पाइप लाइन बिस्तारका लागि राधाकृष्ण मन्दिरदेखि काँरकाँदो चोकका साथै विभिन्न स्थानमा उपमहानगरपालिकाको सडकको पिच काटनु पर्नेछ । सम्झौता अनुसार उक्त पिँच काटे वापत सडक मर्मत सम्भारको जिम्मा खानेपानी संस्थानको हो । संस्थानले सडक मर्मतका लागि आवश्यक पर्ने रकम ९ लाख ४६ हजार उपमहानगरपालिकालाई र १ लाख २० हजार डिभिजन सडक कार्यालयलाई अघिल्लो बवर्ष नै बुझाइसकेको जनाएको छ । तर पनि निर्माणको अनुमति नदिँदा ढिलाइ भएको संस्थानले जनाएको छ ।
यता पाइप लाइन विस्तारको जिम्मा पाएको निर्माण कम्पनी हिराचन मल्ल जेभीले समेत सडक काट्ने अनुमति नपाउँदा आफूहरु काम नभएर खाली बस्नु परेको जनाएको छ । कम्पनीका प्रतिनिधि बाबुलाल कौसलले साढे १६ किलोमिटर पाइपलाइन विस्तारको जिम्मा पाए पनि साढे १३ किलोमिटर पाइपलाइनको सकिएको लामो अवधि भैसक्दा पनि सडक खन्ने अनुमति नपाउँता त्यत्तिकै बस्नु परेको बताए । तीन पटक म्याद थप भैसक्यो, यसले आयोजनाको लागत र अवधि समेत बढिरहेको उनी बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिकाले भने प्राविधिक रुपले त्यसलाई चाँडै टुंग्याएर निर्माण सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेकोले अवब त्यसमा कुनै समस्या नहुने जनाएको छ । ‘यसअघि उपमहानगरपालिकाले सडक खन्ने अुनमति नदिएको भन्ने मलाई जानकारी आयो । हामी बसेर छलफल गरेका छौ’ उपमहानगर प्रमुख प्रशान्त विष्टले भने ‘हामीबाट कुनै अवरोध हुँदैन । चाँडै निर्माण थाल्न भनिसकेका छौ ।’
आयोजना अन्तगर्त हाल राप्ती नदीको पुलको उत्तरपट्टीको किनारमा सम्वेल निर्माण गरिएको छ । त्यहाँबाट करिब १७ किलोमिटर पाइपलाइन बिच्छ्याएर नेपालगन्जमा दैनिक अढाइ करोड लिटर पानी ल्याउने योजना रहेको छ । यो लक्ष्य पूरा गर्न थप दुई वटा सम्वेल निर्माण गर्नुपर्ने संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताए । आयोजना अन्तर्गत अब सडक पिँच खनेर पाइप लाइन बिस्तारको काम बाँकी रहेको छ भने अर्को मुख्य कार्यका रुपमा डुडुवा खोलामा ट्रस्ट ब्रिज निर्माणको काम बाँकी रहेको सूचना अधिकारी केसीको भनाइ छ । ‘पुलको पाईलिंग र फाउन्डेसनको काम सकिएको छ’ उनले भने ‘सुपर स्टक्चर र स्टील वर्करको काम बाँकी छ ।’ संरचना निर्माणका करिब ७५ प्रतिशत काम सकिएकोले कुनै अवरोध नभए आउँदो माघसम्म आयोजना निर्माण सकिने उनी बताउँछन् ।
बढ्दो सहरीकरणसँगै पानीको सतह घट्दै गएपछि नेपालगन्जमा राप्ती नदीको पानी ल्याएर वितरण गर्ने उद्देश्यका साथ ५ वर्ष अघि ३१ करोड ६२ लाख रुपैयाँको लागतमा राप्ती खानेपानी आयोजना सञ्चालनमा आएको हो । आयोजनालाई थप बल पुग्ने गरी थप १२ करोड ५० लाखको लागतमा खानेपानी विस्तार तथा सुधार कार्यक्रम समेत थालिएको छ । आयोजना अन्तगर्त तीन वटा सम्वेल निर्माण गरी नेपालगन्जका विभिन्न स्थानमा तीन वटा ओभरहेड ट्यांकीवाट पानी वितरण गर्ने गरी काम अघि बढेको छ तर विभिन्न समस्याका कारण २ वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ सञ्चालित आयोजना ५ वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन । जस्का कारण स्वच्छ पानी पीउने नेपालगन्जवासीको सपना पूरा हुन अझै समय लाग्ने भएको छ । स्रोत : कारोबार दैनिक