महाभियोग पारित गर्न संसद विघटन नगरेका हुन् कि : गौतम

नेपालगन्ज : पूर्वगृहमन्त्री तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न संसद विघटन नगरेर स्थगित मात्र गरेको आशंका गरेका छन् ।
आइतबार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रममा नेकपा एकता अभियानका अध्यक्षसमेत रहेका नेता गौतमले यस अघिका अभ्यासमा निर्वाचनको मिति घोषणा गरिसकेपछि संसद विघटन गर्ने प्रचलन भए पनि महाभियोग पारित गर्नैका लागि संसद विघटन नगरेर बैठक मात्र स्थगित गरिएको बताए । तर, संसद बैठक पुनः डाक्नेबारे आफूलाई कुनै थाहा नभएको उनले टिप्पणी गरे ।
महाभियोग लगाउने सत्तागठबन्धनको कामलाई निकृष्ट र पापीको संज्ञा दिँदै उनी भन्छन्, ‘जसका कारणले सत्तागठबन्धन बन्यो । २३ सिट जितेको कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यही व्यक्तिलाई महाभियोग लगाउने पुरस्कार दिनु भएको छ । यतिसम्मको काम कसैले गर्नसक्छ ? पापीहरुले मात्र गर्न सक्छन् । सबैभन्दा निकृष्ट ब्यक्तिहरुले मात्र गर्न सक्छन् । महाभियोग लगाउनेहरुले एउटा ठूलो अपराध गरिहनु भएको छ ।’
उनले आशंका गरे, ‘महाभियोग प्रस्ताव पारित गर्न संसदीय समितिले सिफारिस गरेको छ । पारित भएको छैन । प्रतिनिधिसभा पनि भंग भएको छैन । महाभियोगकै (त्यसै कारणले) पारित गर्न भंग नगरेको होला ?’
उनले महाभियोग संविधान सम्मत् भए पनि गलत रहेको बताए । ‘महाभियोग लाग्नका लागि लगाइएको हो । अरु कुनै उद्देश्यले लगाइएन । आरोप पुष्टि नहुँदासम्म महाभियोग लाग्दैन । महाभियोग नलाग्दा नलाग्दै पनि प्रधानन्यायाधीशलाई सिध्याउने काम भएको छ’, उनले चिन्ता ब्यक्त गरे । राज्यका अंगहरुबीच शक्ति पृथकीकरणको सिद्धान्त लागू नगर्ने गरी काम गरिरहेको बताए । उनले विधेयक प्रमाणिकरण नगरेर राष्ट्र«पतिबाट भुल भएको बताए । उनले संसद विघटन नभएर संसद बैठक स्थगित मात्र भएकाले सभामुख, उपसभामुख र सांसदको पद बाँकी नै रहेको बताए ।