देशलाई श्रीलंकाको बाटोबाट रोक्न ऋणमा आधारित विकास गरिँदैन : कांग्रेस प्रवक्ता महत

नेपालगन्ज : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन सरकारले ऋणमा आधारित विकास गर्ने भन्दा निजी क्षेत्रको विकास र अनुदानमा आधारित विकास गर्ने लक्ष्य लिएको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँके शाखाले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले देशलाई श्रीलंकाको बाटोबाट जान रोक्न विकासको रणनीति परिवर्तन गर्ने कुरा सत्ता गठबन्धनको साझा प्रतिबद्धता रहेको बताए । देशमा शान्ति, स्थिरता, संविधान कार्यान्वयन र समृद्धिका लागि दलबीच गठबन्धन बनेको भन्दै उनले गठबन्धनले योग, ध्यान जस्ता पूर्वीय दर्शनमा आधारित विकासका काम गर्नेमा पनि गठबन्धनको साझा प्रतिबद्धता रहेको बताए । देशका केही स्थानमा सत्तागठबन्धनका दलबीच मित्रवत् प्रतिष्पर्धा भए पनि गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षमा मतदान गर्न र समानुपातिकमा कांग्रेसलाई भोट दिन आग्रह गरे । नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुदीप नरसिंह राणा, बाँके क्षेत्र नं. १ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार कुर्मी र बाँके क्षेत्र नं. २ (२) का उम्मेदवार सुरेन्द्र हमाललगायत कांग्रेसका केन्द्रदेखि जिल्ला नेताको सहभागिता रहेको थियो ।