बाँके-२ प्रतिनिधिसभा : राणासँग मतान्तर घटाउँदै राई

नेपालगन्ज : बाँके क्षेत्र नं. २ मा एमाले–राप्रपा गठबन्धनका साझा उम्मेदवार डा.धवलशम्शेर राणासँग जसपाका मोहम्मद इस्तियाक राईले मतान्तर घटाउँदै लगेका छन् ।

झन्डै एक तिहाइ मत गणना हुँदा निर्वाचन आयोग नेपालका अनुसार राणाले १३ हजार ३५५ र राईले आठ हजार ५५९ मत ल्याएका छन् । अहिलेसम्म २७ हजार ९७५ मत मात्र गनिएकोे छ । जुन कूल मत ९७ हजार ८०९ को २८.६० प्रतिशत मात्र हो । दुई तिहाइ मत त गणना हुन बाँकी नै छ । अहिले राईभन्दा चार हजार ७९६ मतले राणाको अग्रता छ । सुरुवाती चरणमा तेब्बर मतले अग्रता लिएका राणा, मध्यतिर दोब्बर मतले अगाडि थिए । कांग्रेसका सुदीप नरसिंह राणाको मत एक हजार ६५९ आएको छ । चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरिको ६०४ रहेको छ ।
बाँके क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्यमा जसपाका भण्डारीलाल अहिरले दुई हजार ५० मतको अग्रता छ । अहिरले आठ हजार ३११ मत ल्याएका छन् । उनलाई एमालेका विजयबहादुर यादवले ६ हजार २६१ मतले पछ्याइरहेका छन् । कांग्रेसका राजकुमार कुर्मीको मत पाँच हजार ४५४ छ । बाँके २ (२) प्रदेशसभा सदस्यामा पनि जसपाका आदेशकुमार अग्रवालको अग्रता छ । अग्रवालले तीन हजार २८५ र कांग्रेसका सुरेन्द्र हमालको दुई हजार ८५५, एमालेका निरकबहादुर गुरुंग दुई हजार ७४६ र माओवादी केन्द्रका अकलबहादुर बमले एक हजार ४११ मत ल्याएका छन् ।