प्रदेश मन्त्रीलाई हराएर अग्रवाल बाँके २ (२)बाट प्रदेश सभा सदस्य निर्वाचित

नेपालगन्ज : लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई तेस्रो स्थानमा झारेर जनता समाजवादी पार्टी नेपाल (जसपा)का आदेशकुमार अग्रवाल बाँके क्षेत्र नं. २ (२) प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । अग्रवालले नेकपा (एमाले)का निरकबहादुर गुरुङ्गलाई एक हजार ५३७ मतको अन्तरले निर्वाचित भएका हुन् । अग्रवालले ८ हजार २४६ मत र गुरुङ्गले ६ हजार ७०९ मत ल्याएका छन् । लुम्बिनी प्रदेशका मन्त्री हमाल ६ हजार २४७ मत ल्याएका छन् ।
अग्रवाल गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका दाबेदार थिए । सत्ता गठबन्धनका दलले केन्द्रबाट नै कांग्रेसलाई नगर प्रमुुख र जसपालाई उपप्रमुख दिने सहमति गरेपछि अग्रवाल निराश थिए । नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश सदस्य अग्रवाल प्रदेशसभा सदस्यको पनि दाबेदार थिए । पार्टीले टिकट नदिएपछि निर्वाचनकै बेला जसपा प्रवेश गरेर टिकट पाएका थिए । अग्रवाल नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पनि हुन् ।