बागेश्वरी गुठीको टोलीद्वारा भारतको देवी पाटन मन्दिरको व्यवस्थापनबारे जानकारी

नेपालगन्ज : बागेश्वरी मन्दिर नेपालगन्जको गुठी समितिले भारत उत्तर प्रदेश राज्य बलरामपुर जिल्लाको तुलसीपुर सहरको देवी पाटन मन्दिरको व्यवस्थापनबारे जानकारी लिएको छ ।
बागेश्वरी गुठी व्यवस्थापन समितिका सदस्यहरु ओमप्रकाश आजाद, मधुसुधन शर्मा, उमा थापा मगर र नारद पुरीसहितको टोलीले शुक्रबार मन्दिरको संरचना अवलोकन र व्यवस्थापनबारे जानकारी लिएको हो । यो मन्दिर पाटेश्वरी देवीको नामले पनि परिचित छ ।

देवी पाटन मन्दिरका व्यवस्थापक ब्रिजेश पाण्डेले मन्दिर परिसरको अवलोकन गराउँदै जानकारी गराएका थिए । मन्दिरमा मिथलेशनाथ महन्त र २० जना पूजारी रहेका छन् ।

महन्त र पूजारीलाई कुनै पारिश्रमिक दिइँदैन । उनीहरुले दान दक्षिणा पनि लिँदैनन् तर भक्तजनले चढाउने रकम दानपेटीमा चढाउने गरेका छन् । व्यवस्थापक पाण्डे भन्छन्, ‘महन्त र पूजारीको कुनै तलब हुन्न । आवास, खाना, बस्त्र र उहाँहरुलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा मन्दिरले उपलब्ध गराउँछ । देवीका मूर्तिको छेउमा एक जना पूजारी राखिएको छ । त्यहाँ दानपेटी छ । त्यो दानपेटीको रकम साँझ गनेर मन्दिरको कोषमा जम्मा हुन्छ ।’
देवी पाटन मन्दिर बागेश्वरी मन्दिर जस्तै दुर्गाका ५१ वटा शक्तिपीठ मध्ये एक हो । जहाँ सत्यदेवीको दाहिने काँध खसेको धार्र्मिक मान्यता छ । बागेश्वरी मन्दिरभित्र सबै भक्तलाई पूजा गर्न जाने दिने गरिए पनि देवी पाटनमा भने देवीको मूर्ति नजिक पुगेर पूजा गर्न पाइँदैन । टाढैबाट दर्शन गर्ने हो । पूजारीमार्फत फूल प्रसाद चढाइन्छ ।

देवी पाटन मन्दिरको नाममा डेढ सय एकड जग्गा छ । १४ हेक्टर क्षेत्रफलमा मन्दिर बनाइएको छ । सूर्य कुण्ठ (कृत्रिम ताल), प्रशासनीक भवन, गौशाला, धर्मशाला, छात्रवास, छुट्टै शिव मन्दिरका साथै ठाउँ ठाउँमा नवदुर्गाका मुुर्ति राखेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । खर्च कटाएर मन्दिरले वार्षिक रुपमा औसत ३० देखि ४० लाख भारु आम्दानी गर्ने गरेको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । मन्दिरको आम्दानीबाट विद्यालय, औषधालय पनि सञ्चालन भइरहेको छ । जहाँ ५५ जना कर्मचारी छन् । मन्दिर परिसरमा बागेश्वरीको जस्तै कृत्रिम ताल छ । जहाँ बोटिङ सुविधा छ ।

३० वर्षअघि मन्दिर परिसरमा बलि दिने गरिए पनि अहिले त्योे हटाइएको छ । नरिवल चढाइन्छ । बडादशैं र चैते दशैको नवरात्रमा विशेष महत्व हुने यो मन्दिरमा सोमबार र शुक्रबार पनि भक्तजनको अत्यधिक भीँड लाग्छ । मन्दिरको सुरक्षाका लागि भारत सरकारले २ बटालियन (हतियारविहीन १०० जना सुरक्षाकर्र्मी)को व्यवस्था गरेको छ । हतियारधारी प्रहरी भने नजिकैको प्रहरी चौकीबाट आवश्यकता पर्दा माग्ने गरिएको छ । बागेश्वरी गुठी र पाटन देवी गुठीले एक अर्काबीच भक्तजनलाई शक्तिपीठबारे जानकारी आदान प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।